काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफुले कुनै आदेश नदिएको दाबी गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसंग कुरा गर्दै लेखकले आफु र प्रधानमन्त्रीले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताएका हुन् । गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरुमा सत्यता नरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘‘म स्पष्ट रुपले के आग्रह गर्न चाहन्छु भने प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश दिने भन्ने कुरा होइन । कुनै त्यस्तो खालको बल प्रयोग गर्ने आदेश गरिएको छैन । प्रधानमन्त्रीले भन्नु भएको छैन, मैँले भनेको छैन ।’ लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको धारणा राखे । जेनजी पुस्ताले अघि सारेका मागहरुलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए ।

उनले राज्यका सवै निकायहरु कानूनसम्मत रुपमा चल्नुपर्नेमा जोड दिए । लेखकले आन्दोलनको छानविन गर्न आयोग गठन गरेको अवस्थामा मुलुकको संविधान र कानूनबमोजिम आयोगले काम गर्ने विश्वास व्यक्त गरे । ‘सरकारले, आयोगले हाम्रा लोकतान्त्रिक मूल्य मान्यताभित्र बसेर मुलुकको संविधान र कानुन अनुसार काम सम्पादन गर्नुपर्छ ।’

उनले अहिलेको अवस्थामा उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्न जरुरी रहेको जिकिर गरे ।