काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माणमा श्रमदान गर्न आफू पनि तयार रहेको बताएका छन् । अघिल्लोपटक प्रधानमन्त्री हुँदा घोषणा गरेको ‘मेरो धरहरा मै बनाउँछु’ अभियानले सार्थकता नपाइरहेका बेला प्रधानमन्त्री ओलीले आफू श्रमदान गर्न तयार रहेको बताएका हुन् । उनले अरुलाई पनि श्रमदानका लागि आह्वान गरे ।


ADVERTISEMENT


मेरो धरहरा मै बनाउँछु भन्ने नारालाई सफल बनाएरै छाड्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘इँटा, डोको, कोदालो, खर्पन बोक्न म तयार छु, तपाईंहरु पनि तयार हुनुस् ।’ गोरखा भूकम्पको तेस्रो स्मृतिमा काठमाडौं महानगरपालिकाले बुधबार बिहान धरहरा अगाडि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


अघिल्लो प्रधानमन्त्रीत्वकालमा धरहरा निर्माण अभियान आफूले शुरु गरे पनि त्यसपछिका सरकारले यसको पुनर्निर्माणमा बेवास्ता गरेको आरोप ओलीले लगाए । ‘धरहरा पुनर्निर्माण अभियान मैले नै शुरु गरेको थिएँ’, ओलीले भने, ‘तर आज यो भग्नावशेष जस्तो छ त्यस्तै छ । रुखका पातहरु दुईपटक झरिसके, पलाइसके तर यतातिर केही भएन ।’

नेपाली परम्परा, इतिहास र चालचलनको ख्याल गरेर बलियो धरहरा पुनर्निर्माण गरिने ओलीले बताए । ‘धरहरा नेपालीको सान, मान र स्वाभिमानको प्रतीक हो,’ प्रधानमन्त्री ओलीले भने, ‘स्वाभिमानको यो धरहरा यसै ठाउँमा अविलम्ब उभिन्छ ।’

पुरातात्विक महत्वका सम्पदाहरु निर्माण कुन मोडलमा बनाउने भन्नेबारे अन्योलता भइरहेका बेला ओलीले यसलाई नेपाली मौलिकता, परम्परा र पहिचानअनुसार नै बनाइने स्पष्ट पारे । ‘धरहरा पुननिर्माणका सन्दर्भमा विभिन्न कुराहरु आइरहेका छन्, कतिपयले व्यापारिक उद्देश्यले बनाउन सुझाव दिइरहेका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘ऐतिहासिकता र पुरातात्विक पहिचानलाई ख्याल गरेर धरहरा निर्माण गर्छौं ।’

प्रधानमन्त्री ओलीले पर्खिने समय नभएको बताउँदै भूकम्पबाट भत्केका ऐतिहासिक, पुरातात्विक महत्वका संरचनाहरुको निर्माणलाई अब रफ्तारमा अघि बढाइने प्रतिबद्धता जनाए ।