काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रहरीको हेडक्वार्टर र राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय निकाय चितवनमा स्थापना हुने बताएका छन् ।


ADVERTISEMENT


बुधबार बिहान छोरी रेणु दाहालको निवासमा पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै प्रचण्डले प्रदेश प्रहरीको हेडक्वार्टर चितवनमा राख्ने तयारी भैसकेको जानकारी दिए । उनले राष्ट्रपति चुरे संरक्षण परियोजनाको मुख्य निकाय पनि चितवनमा नै राख्ने गरी प्रक्रिया अघि बढिसकेको बताए ।


ADVERTISEMENT

# # #


गैरराजनीतिक विषयमा मात्रै भनेर गरिएको छलफलमा अध्यक्ष प्रचण्डले चितवन देशको मध्य भागमा रहेकाले यसको सबै क्षेत्रमा सम्भावना रहेको बताए ।

चितवनमा चिनियाँ लगानी
चिनियाँ लगानीकर्ताहरु चितवनमा लगानी गर्न इच्छुक रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘हिजो मात्रै मेरो चिनियाँ लगानीकर्ताहरुसँग विषेश भेटघाट भएको छ । जिल्लामा २५ वटा विभिन्न उद्योगहरु स्थापना गर्न इच्छुक रहेको पाएँ । त्यसमा कपडा उद्योगदेखि स्टिल उद्योगसम्म छन् ।’

चितवन कृषिका लागि उर्बर भूमि रहेको भन्दै अध्यक्ष प्रचण्डले इजरायली मोडलमा एकीकृत व्यवसायिक कृषि उत्पादनका लागि योजना ल्याइने बताए ।

देशभरीमा १५ वटा नमूना कृषि सम्वन्धी फार्महरु स्थापना गर्ने तयारी भैरहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसमध्ये एउटा परियोजना चितवनमा ल्याउने जानकारी दिए । ‘चितवन जिल्ला विकासको नमूना हुन सक्छ, प्राकृतिक स्रोत साधनको जनमत, भौगोलिक अवस्थिती आदि कारणले चितवनको विकासको मोडल अन्यका लागि पनि नमूनायोग्य हुन सक्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘चितवनको सम्वन्ध नवलपुर, मकवानपुर र धादिङसँग जोडन सकिन्छ ।’

आफू हरेक पटक जिल्लामा आउँदा यहाँका एक–एक क्षेत्रको भ्रमणमा जानुको कारण त्यसको सम्भावनाको खोजीका लागि भएको प्रचण्डले दावी गरे । प्रचण्डले भने, ‘कहिले माडी, कहिले कबिलास, कहिले, नारायणी तट कहिले गोलाघाट, कहिले मौलाकालिका र देवघाट प्रचण्ड त्यसै घुम्न मात्रै गएको होइन, विकासको सम्भावना के छ, कसरी गर्न सकिन्छ भन्ने गएको हो ।’

बुधबार चितवनमा नेत्रज्योती संघको केन्द्रीय साधारण सभा र जेष्ठ नागरिक समाजले आयोजना गरेको स्वास्थ्य शिविरमा प्रचण्ड सहभागी हुँदैछन् ।