काठमाडौं–‘अलग बस्नु, कसैलाई अलग्ग्याउनु वा राष्ट्रवाद हाम्रो डर भगाउने एक अस्थायी विकल्प त हुनसक्ला तर संसारका लागि आफ्नो ढोका बन्द गर्दा हामीले संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले हाम्रा नागरिकको डरलाई कम गर्नुको साटो बढाउँछ । हामी उर्लंदो राष्ट्रवादमार्फत विश्वव्यापी समृद्धिलाई हानी पुर्याउन सक्दैनौं ।’


ADVERTISEMENT


यो भनाई फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों को हो जो अमेरिकामा तीन दिवसीय भ्रमणका लागि पुगेका छन् । म्याक्रोंले अमेरिकी संसदका दुबै सदनलाई एउटा विरल सम्बोधनका क्रममा आफ्ना समकक्षी डोनल्ड ट्रम्पका केही नीतिहरुलाई सशक्त रुपमा चुनौती दिएका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पृथक रहने नाममा अन्तर्राष्ट्रिय रुपमा सहभागिता नत्याग्न उनले आग्रहसमेत गरेका छन् । हुन त यी दुई नेताबिचको सम्बन्ध निकै बलियो छ तर म्याक्रोंको भाषणबाट यो थाहा हुन्छ कि अन्तर्राष्ट्रिय व्यापारदेखि इरानको पर्यावरणको मुद्दासम्म उनी अमेरिकी राष्ट्रपतिसँग सहमत नभएको बुझिन्छ ।

म्याक्रों भाषणका लागि आउनेबित्तिकै सांसदहरुले तीन मिनेटसम्म ताली बजाएर उनको स्वागत गरे । सबैभन्दा पहिले उनले स्वतन्त्रता, सहिष्णुता र बराबरीको अधिकारले गाँसिएको कहिले नटुट्ने अमेरिका र फ्रान्सबीचको सम्बन्धको प्रशंसा गरे ।

के के भने म्याक्रोंलेः

५० मिनेट लामो उक्त भाषणमा उनले हरितगृह ग्यास उत्सर्जनलाई सीमित पार्ने पेरिस सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताए । साथै उनले फ्रान्स इरानसँग सन् २०१५ मा गरिएको परमाणु सम्झौतालाई नतोड्ने वचन दिए ।

स्मरण रहोस्, ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई अलग गरिसकेका छन् र इरानसँगको परमाणु सम्झौतालाई रद्द गर्ने धम्की दिँदै आएका छन् ।

उनले भने, ‘कुनै ठोस् विकल्पबिना हामीले यसलाई त्याग्नु हुँदैन ।’ यस्तै, पेरिस सम्झौताको समर्थन गर्दै उनले पर्यावरणको मुद्दा उठाएका छन् ।

उनले भने, ‘यदि हामीले यो धर्तीलाई बर्बाद गरिरहेका छौं र आफ्ना सन्तानको भविष्य दाउमा लगाइरहेका छौं भने हामी बाँचेको के अर्थ भयो र ? भविष्यमा हामीले एउटै वास्तविकताको सामना गर्नुपर्नेछ किनभने हामी सबै यसै धर्तीमा बाँचिरहेका छौं ।’

‘म आशावादी छु कि अमेरिका एक दिन पुनः पेरिस सम्झौतामा फर्कनेछ ,’ उनले भने ।

व्यापारको मुद्दामा फ्रान्सका राष्ट्रपतिले व्यापार युद्ध कुनै समस्याको समाधान नभई यसले मानिसहरुलाई बेरोजगार बनाउने र मूल्यवृद्धिमा सघाउ पुर्याउने बताए । उनले भने, ‘हामीले विश्व व्यापार संगठनमार्फत नै समाधान खोज्नुपर्छ । हामीले नै ती नियम बनाएका हौं भने त्यसलाई त आखिर मान्नै पर्यो ।’

ट्रम्पले केही समय अघि युरोप र चीनको उत्पादनको आयातमा नयाँ ट्यारिफ लगाएका छन् किनभने उनका अनुसार अमेरिका अन्य देशको गलत व्यापारिक नीतिको शिकार भइरहेको छ ।

यस्तै, राष्ट्रवादका विषयमा म्याक्रोंले भने, ‘नीजि रुपमा मलाई नयाँ शक्तिशाली देश बनाउने, स्वतन्त्रतामाथि कसी लगाउने वा राष्ट्रवादको भ्रम पैदा गर्ने कुनै रहर छैन ।’

म्याक्रोंको भाषणमाथि सांसदको प्रतिक्रियाः

डेमोक्रेटिक पार्टीका वरिष्ठ सांसद एडम स्किफले न्यूज एजेन्सी एफपीलाई भने, ‘म्याक्रोंले उर्लंदो राष्ट्रवादप्रति सिधा विरोध गरेका छन् ।’

यस्तै, रिपब्लिक पार्टीका जेफ फ्लेकले म्याक्रोंको भाषण ‘ट्रम्पवाद’ को ठिक विपरित भएको बताए । तर रिपब्लिक पार्टीका नेता केविन म्याक्कार्थीले म्याक्रोंको भाषणमा कुनै प्रकारको मतभेद नभएको बताएका छन् ।

उनले भने, ‘म्याक्रोंले भाषणमा आफू स्वतन्त्र र सही व्यापार चाहेको बताएका छन् । यही कुरा राष्ट्रपति ट्रम्प पनि चाहन्छन् ।’