काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले सामोआविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
ओमानको अल अमेरतमा जारी प्रतियोगिताको ट्रफी जित्न सामोवाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरिहेको नेपालका लागि आशिफले ३१ बलमा ६ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
ताजा अवस्थामा नेपालले ११ ओभरको समाप्तीमा १ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । नेपालको इनिङ आशिफ शेख (६३) र दीपेन्द्रसिंह ऐरी (१३)ले सम्हालिरहेका छन् । यसअघि कुशल भुर्तेल पहिलो विकेटका रुपमा १७ रनमा आउट भएका थिए ।
जारी प्रतियोगिताको एक मात्र अपराजित टोलीको रुपमा रहेको नेपालले सुपर सिक्समा ४ खेलमा ४ वटै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते नेपाल प्रतियोगिताको उपाधि जित्नेछ । नेपाल अपराजित रहँदै प्रतियोगिता टुंग्याउन चाहन्छ । यद्दपि सानो हारले पनि नेपाललाई ट्रफी जित्नबाट भने रोक्नेछैन ।
यता सुपर सिक्समा कुनै पनि खेल नजितेको सामोआ प्रतियोगिताकै उत्कृष्ट टोली नेपालविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।



























































