काठमाडौँ – ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक क्षेत्र छनोटको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल चुनौती दिएको छ ।
ओमानको अल अमेरतमा जारी प्रतियोगिताको ट्रफी जित्न सामोवाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको हो ।
नेपालका लागि आपेनर आशिफ शेख र अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । सो क्रममा आशिफले ४१ बलमा ७ चौका र ४ छक्का ठोक्दै सर्वाधिक ६९ रन बनाए । यस्तै दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे । यस्तै आक्रामक ब्याटिङ गरेको लोकेश बमले १२ बलमा २ चौका र ४ छक्का ठोक्दै ३९ नटआउट रन बनाए ।
कुशल भुर्तेल पहिलो विकेटका रुपमा १७ रनमा आउट भए भने कप्तान रोहित पौडेल १२ बलमा २१ रन बनाएर नटआउट रहे । बलिङतर्फ सोमोआमा सौमानी टिआई, डारियल भिजेर र डेनियल ब्रग्रेस र नोह मिडले समान १–१ विकेट लिए ।
जारी प्रतियोगिताको एक मात्र अपराजित टोलीको रुपमा रहेको नेपालले सुपर सिक्समा ४ खेलमा ४ वटै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । आजको खेल जिते नेपाल प्रतियोगिताको उपाधि जित्नेछ । नेपाल अपराजित रहँदै प्रतियोगिता टुंग्याउन चाहन्छ । यद्दपि सानो हारले पनि नेपाललाई ट्रफी जित्नबाट भने रोक्नेछैन ।
यता सुपर सिक्समा कुनै पनि खेल नजितेको सामोआ प्रतियोगिताकै उत्कृष्ट टोली नेपालविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।



























































