काठमाडौं–भारतीय पुलिसले विवाहमा उपहारस्वरुप बम दिएको मामलामा कलेजका एक शिक्षकलाई पक्राउ गरेको छ । उक्त बम काण्डमा सफ्टवेयर इन्जिनियर बेहुलाको मृत्यु भएको थियो भने बेहुली घाइते भएकी थिइन् । आरोपी पुञ्जिलाल मेहेर पीडितकी आमासँग ओरिसा स्टेटमा सँगै काम गर्ने पुलिसले बताएको छ ।


ADVERTISEMENT


पीडितकी आमाको सरकारी कलेजमा प्रामोसन भएपछि पुञ्जिलालले त्यसको बदला लिन हत्याको योजना बनाएको पुलिसले जानकारी दिएको छ । गत फेब्रुअरीको उक्त घटनामा पुलिसले सयभन्दा बढिलाई सोधपुछ गरेको थियो । तीमध्ये धेरै आफन्त र साथीभाइ थिए ।


ADVERTISEMENT

# # #


विवाह भएको पाँच दिनपछि आफ्नो नाममा आएको पार्सल खोलेपछि सौम्य शेखर साहु, २६ वर्षीय सफ्टवेयर इन्जिनियरको मृत्यु भयो भने उनकी २२ वर्षीया श्रीमती सख्त घाइते भइन् । साहुकी ८५ वर्षीया हजुरआमा जेमामनी साहुको पनि फेब्रअरी २५ मा पट्नागरको निवासमा भएको बम बिस्फोटमा परी मृत्यु भयो ।

पुलिसका अनुसार पीडितकी आमालाई कलेजको प्रधानाध्यापक बनाएपछि मेहेरले आफू अपमानित भएको महसुस गरेपछि हत्याको योजना बनाएका हुन् । ओरिसा पुलिस चिफ आरके शर्माका अनुसार मेहेरले एक्लै हत्याको योजना बनाएका थिए । उनले इन्टरनेटबाट बम बनाउने तरिका डाउनलोड गरेर घरभित्रै सरसामग्री जोरजम्मा गरेका थिए ।

‘उनले बमलाई पार्सलमा प्याक गरे र रेल चढेर २ सय ३० किलोमिटर परको रायपुर पुगे । शंका नहोस् भन्ने उद्देश्यले उनले रायपुरबाटै कुरियर गरे,’ शर्माले भने । त्यसपछि उक्त पार्सलले तीनवटा बसमा ६ सय ५० किलोमिटरको यात्रा गर्यो र फेब्रुअरी २० तारिखमा पट्नागर पुग्नुअघि चारजनाको हातमा पुग्यो ।

कुरियर कम्पनीले उक्त बक्समा रायपुरबाट एसके शर्माले पठाएको उपहार भनी लेख्यो । ‘यो विवाहको उपहारजस्तो देखिन्छ,’ सौम्य शेखरले पार्सल खोल्नुअघि श्रीमतीलाई भने । ‘यो कसले पठाएको हो भन्ने मलाई थाहा छैन । मैले रायपुरको कोही पनि चिन्दिनँ ।’