काठमाडौं–मुटु शरीरको महत्वपूर्ण र संवेदनशील अंग हो । त्यसैले पनि मुटुमा देखिने समस्याले समग्र स्वास्थ्यमै असर पु¥याउने गर्छ । त्यसैले यसबारे राम्रो जानकारी राख्न जरुरी हुन्छ । यसका लक्षणबाट मुटुमा समस्या छ या छैन भन्ने कुरा आफैँ जान्न सकिन्छ । यी हुन् मुटुमा हुने समस्या र लक्षणः


ADVERTISEMENT


छातीको बीच भाग दुख्ने


ADVERTISEMENT

# # #


मानसिक तनाव हुँदा वा बढी शारीरिक परिश्रम गर्दा छातीको बीच भागमा दुख्यो भने त्यसलाई सामान्य रूपमा लिनुहुँदैन ।

यस्तो अवस्थामा मुटुलाई ढुंगाले थिचेजस्तो, डोरीले बाँधेजस्तो या मुठ्ठीले हिर्काएजस्तो अनुभूत भएमा स्वास्थ्य जाँच गराउन जरुरी हुन्छ । यस्तो दुखाइ कुम, पाखुरा, घाँटी तथा चिउँडोतिर पनि सर्ने गर्छ । यस्तो समस्या भएमा स्वास्थ्यमा कुनै समस्या भएको बुझ्नुपर्छ ।

दम बढ्ने

धेरै मानिसले दम बढेको अवस्थालाई फोक्सोमा भएको खराबीका रूपमा लिने गर्छन् । यो केही हदसम्म सही हो । तर, खोकी र दमको सम्बन्ध फोक्सोसँग मात्र नभई मुटुसँग पनि हुने गर्छ । शारीरिक परिश्रम गर्दा हुने दम प्रायः मुटुकै कमजोरीका कारण हुने गर्छ ।

खुट्टा सुन्निने

खुट्टाको घुँडादेखि कुर्कुचासम्मको भाग सुन्निएको अवस्थामा सचेत हुन आवश्यक हुन्छ । यसरी सुन्निएको अवस्थामा हाडमाथि औँलाले थिच्दा खाल्डो पर्ने, अत्यधिक दुख्ने भएमा मुटुको समस्या हो भनी बुझ्नुपर्छ ।

घाँटीको रक्तनली फुल्ने

कहिलेकाहीँ घाँटीको दायाँ–बायाँ भएको रक्तनली फुल्न सक्छ । जुन नांगो आँखाले प्रस्ट देख्न सकिन्छ । यस्तो समस्या भएको अवस्थामा गम्भीर हुन जरुरी हुन्छ । किनकि, मुटुका कारण पनि यस्तो लक्षण देखिन सक्छ । यस्तो समस्याले मुटुमा रक्तचाप बढेको संकेत गर्छ । मुटु कमजोर भएमा पनि चाप बढ्ने गर्छ ।

ओठ, जिब्रो, औँलाका टुप्पो नीलो हुने

स्वस्थ व्यक्तिको शरीरको बनावटबारे सबैले सहजै जान्न सकिन्छ । मानिसको शरीर केही हदसम्म रगतको रङजस्तो देखिनुपर्छ । अक्सिजनले रगतलाई रातो बनाइराख्ने काम गर्छ ।

रगतमा अक्सिजनको कमी हुनेबित्तिकै शरीरका अंग नीलो देखिन थाल्छ । औँलाका टुप्पा, ओठ, जिब्रो नीलो भएमा रगतमा अक्सिजनको मात्रा कमी भएको बुझ्नुपर्छ । यसरी शरीरका विभिन्न अंग नीलो हुनु मुटुरोगको लक्षण हो ।

औँलाका टुप्पा बाक्लो हुने

औँलाका टुप्पा बाक्लो हुनु पनि मुटुरोगको लक्षण हो । कहिलेकाहीँ यस्तो रोगले औँला बाटुलो बनाउने पनि गर्छ ।

चक्कर लाग्ने

रक्तचाप बढ्यो भने टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या हुने गर्छ । कहिलेकाहीँ मुटुको धड्कन ढिलो भएको अवस्थामा पनि चक्कर लाग्ने गर्छ । मुटु प्रतिमिनेट ६० देखि एक सयपटकसम्म धड्किनुपर्छ । तर, प्रतिमिनेट ४५ भन्दा कमपटक मुटु धड्किएमा चक्कर लाग्ने समस्या हुन्छ ।

कफमा रगत देखिने

क्षयरोग र क्यान्सरका कारण मात्र होइन, मुटुको समस्याका कारण पनि कफमा रगत देखा पर्ने गर्छ ।
यसका साथै मुटुरोगले जोर्र्नी दुख्ने, ज्वरो आउने, हात, खुट्टा, ओठ स्वचालित हुने, छातीमा हात राख्दा ध्वनि निस्कनेजस्ता लक्षण पनि देखाउँछ ।

नयाँ पत्रिकाबाट