काठमाडौं–चिनियाँ विदेश मन्त्री वाङ यीले यही साता छिमेकी उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै चिनियाँ विदेश मन्त्रालयले समकक्षी री योङ होको निमन्त्रणमा यी दुई दिने भ्रमणका लागि बुधबार प्योङयाङ जाने बताएको छ ।


ADVERTISEMENT


उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग सीमा क्षेत्रमा वार्ता गरेको साता दिन नबित्दै उत्तरको प्रमुख सहयोगी चीनका विदेश मन्त्री प्योङयाङ जान लागेका हुन् । सत्ता सम्हालेको ६ वर्षपछि गत महिना किमले चीन आएर पहिलो विदेश भ्रमण गरेका थिए ।


ADVERTISEMENT

# # #


शुक्रबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको शिखर वार्तामा ६५ वर्षदेखि युद्धविरामको अवस्थामा रहेको कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दुबै देश सहमत भएका थिए ।

सोही वार्तामा किम अनआणविकीकरणलाई साझा लक्ष्य बनाउन तयार भएका थिए । उनले आगामी मेमा सम्पूर्ण आणविक कार्यक्रम बन्द गर्ने पनि बताएको दक्षिण कोरियाले जनाएको छ ।

उत्तर र दक्षिणबीच भएको यो सहमतिलाई जापान, चीन र अमेरिकाले स्वागत गरेका थिए ।

किम र अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पबीच केही हप्तामा भेटवार्ता गर्ने तयारी भइरहेको छ।

दक्षिणसँगको वार्ताअघि आफू नै रेल ल्याएर बेइजिङ आएका किमले अमेरिकी राष्ट्रपतिसँगको भेटअघि चीनका विदेश मन्त्रीलाई प्योङयाङ बोलाएका हुन्।