काठमाडौं–शंख, घण्ट, डमरु बजाउँदै सोमबार बिहान सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशी र मुख्य रजिस्ट्रार राजन भट्टराईसहित ५ जना वटुक मुख्य रजिस्ट्रारको कक्षभित्रबाट श्रीयन्त्र बोकेर निस्किए ।


ADVERTISEMENT


८ जना वटुकले पशुपतिबाट ल्याएको चन्दनको टीका लगाइदिँदै सबैतिर जल छर्किए र स्वस्ती वाचन गरेपछि तामझामसहित सोझै उत्तरपट्टी रहेको पुरानो भवनको भुइँतलाको कोठामा गए । फूल, दुनाटपरी, रंगीबिरंगी लिंगा, अग्राखका समिधा, ध्वजापताका, तोरण, चँदुवा, वरपिपलका पातले भरिएका कलशले सजाएर कोठालाई पूजास्थल बनाइएको थियो ।


ADVERTISEMENT

# # #


मण्डपनजिकै बसेर कामु प्रधानन्यायाधीश जोशी र मुख्य रजिस्ट्रार भट्टराईले हात जोडेर चरु होम्दै दिनभर होम र पूजाआराधनामा व्यस्त रहे । धुप, बत्ती बालेर श्रीयन्त्रमा ध्वजा बाँधे । भट्टराई कछाडै बाँधेर गेरु वस्त्रमा दिनभरजसो पूजामा बसे । यता, जोशी भने दौरासुरुवालमा पत्नीसहित मण्डपमा उपस्थित थिए ।

यज्ञमा सर्वोच्चका न्यायाधीश ओमप्रकाश मि श्र, चोलेन्द्रसमशेर राणा, दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा, उच्च र जिल्ला अदालतका न्यायाधीशहरू एवं कर्मचारीसमेत थिए । बुद्धजयन्तीको बिदाका दिन करिब ८ घण्टा न्याय र शान्तिको कामना गर्दै यज्ञ, होम र श्रीयन्त्रको पूजाआराधना गरिएको थियो । तामा र पित्तलबाट निर्मित पाताको मध्यमा श्री लेखिएको यन्त्रलाई शिवको तेस्रो आँखा मानिन्छ । पशुपतिनाथ मन्दिरमा पनि ‘सत्यम्–शिवम्’ का रूपमा श्रीयन्त्र राखिएको छ । – आजको अन्नपुर्ण पोष्टबाट