काठमाडौँ – नेपाली कांग्रेस आवद्ध युवाहरुले पार्टी कार्यालय सानेपामा तालाबन्दी गरेका छन् ।
नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै उनीहरुले आइतबार पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरुले कांग्रेसलाई बन्धक बनाउन पाइँदैन, पदाधिकारी र केन्द्रीय सदस्यहरु होसियार, युवाहरुको प्रतिनिधित्व सुनिश्चित गर, नियमित महाधिवेशन घोषणा गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । महाधिवेशनको विवादका कारण पार्टीको केन्द्रीय समिति बैठक स्थगीत गरिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।
उनीहरुले तत्काल नियमित महाधिवेशनको मिति घोषणा गर्न नसके केन्द्रीय कार्यसमिति विघटन गर्नुपर्ने समेत बताएका छन् । पार्टीको १५औँ महाधिवेशनको विषयमा विवाद भएपछि आइतबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसमा सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा विवाद छ । यसैबीच कांग्रेस नेता मोहन बहादुर बस्नेतले केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति सार्वजनिक गर्नुपर्ने बताए । पार्टी कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले विशेष महाधिवेशनले पार्टीभित्रको समस्या समाधान हुन नसक्ने उनले बताए ।
बस्नेतले महामन्त्री गगन कुमार थापाले महाधिवशेनको विषयमा आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा अहिले विवाद देखिएको आरोप लगाए । पार्टीको नियमित महाधिवशेन छिटो हुनुपर्ने युवाहरुको माग स्वभाविक रहेको उनको भनाइ छ ।



























































