काठमाडौं – श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको सुशासनसम्बन्धी प्रतिबद्धतामाथि प्रश्न उठाउँदै भ्रष्टाचारका पुराना फाइल खोल्न चुनौती दिएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले गिरीबन्धु टी–स्टेट, वाइडबडीलगायत चर्चामा रहेका प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई आग्रह गरे ।
उनले सरकारसँग भ्रष्टाचारविरुद्ध कारबाही गर्ने पर्याप्त राजनीतिक शक्ति रहेको उल्लेख गर्दै प्रश्न गरे, ‘गिरीबन्धु टी–स्टेट होस् वा वाइडबडी काण्ड, तपाईंहरूले ठूलो छाती भएको दाबी गर्नुहुन्थ्यो, के कुराले रोक्यो रु पपुलारिटीका लागि मात्र बोल्ने हो ?’
भ्रष्टाचारका दोषीलाई कारबाही गर्ने जुनसुकै प्रक्रियामा आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने राईले स्पष्ट पारे। विभिन्न हत्याकाण्ड तथा ठूला भ्रष्टाचारका घटनाको समेत गम्भीर अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।
राईले सरकारको कार्यसम्पादन जनताका तत्कालीन समस्यामा परिणाम देखिने गरी हुन नसकेको आरोप लगाए । रेमिट्यान्समा निर्भर अर्थतन्त्र, युवाको विदेश पलायन, बढ्दो महँगी, किसानका समस्या र बेरोजगारीजस्ता विषयमा सरकारले प्रभावकारी काम गर्न नसकेको उनले बताए।
निर्वाचन क्षेत्रमा विकास निर्माणका काम अलपत्र रहेको तथा सरकारी विद्यालयको गुणस्तर खस्किँदै गएको भन्दै उनले शिक्षा र पूर्वाधारका क्षेत्रमा समेत सरकारको ध्यानाकर्षण गराए ।
त्यस्तै, आफूहरूले पटक–पटक उठाउँदै आएको फ्री भिसा र फ्री टिकटको विषयमा पनि सरकारले ठोस निर्णय लिन नसकेको उनको भनाइ थियो। आन्दोलनकारीलाई जेल हालेर मात्रै परिवर्तन सम्भव नहुने भन्दै राईले सरकारको नीतिमाथि प्रश्न उठाए ।
राईले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे पनि सरकार स्पष्ट हुनुपर्ने बताए । आन्दोलनमा सहभागी केही व्यक्ति संसद् र सरकारमा पुग्ने तर सोही आन्दोलनमा सहभागी अन्य युवा जेलमा रहने अवस्था विरोधाभासपूर्ण भएको उनको भनाइ थियो।
उनले मानव अधिकार आयोगको प्रतिवेदन, जेलमा रहेका युवा, घाइतेहरू तथा आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षतिबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरे।
साथै, संसद्को अधिवेशन अन्त्य भएको समयमा संघीयता, धर्मनिरपेक्षता, लोकतन्त्र र समावेशिताविरुद्ध कुनै पनि कदम नचाल्न सरकारलाई खबरदारी गर्दै राईले यस्ता विषयमा आफ्नो पार्टी सतर्क रहेको बताए ।
















