लेक लागेर एक जापानी नागरिकको मृत्यु


ADVERTISEMENT


विराटनगर–सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ । लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

सगरमाथा आरोहणका लागि उहाँ गत वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन प्रालिमार्फत आएका थिए ।

चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–२ ढलिपाङ र हेटाँैडा उपमहानगरपालिका–१६ मा गए राति परेको चट्याङ लागि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरि गाउँपालिका–२ बस्ने ३० वर्षीय भीमलाल स्याङतान र उनको तीन वर्षीया छोरी विमला र हेटौँडा उपमहानगरपालिका–१६ बस्ने ६० वर्षीय कृष्णबहादुर बलामीको हेटौँडा अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपराज झाले जानकारी दिए ।

यसैगरी उक्त चट्याङपछि गम्भीर घाइते भएकी हेटौंडा उपमहानगरपालिका–१६ चिसापानी बस्ने १५ वर्षीया सलिना श्रेष्ठलाई थप उपचारका लागि हेटौँडा अस्पतालबाट चितवनको मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बसको छतबाट खसेर एकजनाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक खलासीको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका खलासी जिल्लाको एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा खलासी मण्डल बसको छतबाट सडकमा लडेकोमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।

बसको छतबाट लडेर गम्भीर घाइते भएका खलासी मण्डललाई उपचारको लागि तत्कालै अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गरेको अवस्थामा बेलुका करीब ७ बजेतिर बाटैमा उनको मृत्यु भएको थियो ।

बस इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।