चितवन–आपराधिक समूहले केरा घरी काटिदिँदा नोक्सानी ब्यहोरेका चितवनका केरा किसानहरुमाथि एकसाता पनि नबित्दै प्राकृतिक विपत्ती आइलागेको छ ।


ADVERTISEMENT


आइतबार साँझ आएको हावाहुरीसहितको असिनाले कालिका नगरपालिकाको पदमपुरमा ८० प्रतिशतभन्दा बढी केरा खेती पूर्णरुपमा नष्ट भएको छ । यसबाट करोडौंको क्षति भएको किसान अगुवाले बताएका छन् ।


ADVERTISEMENT

# # #


‘यति ठूलो प्राकृतिक विपत्ती आएको थिएन, यसपटक त मन नै भसक्कै हुने गरी क्षति गर्‍यो, प्राकृतिक विपत्ती भोग्दै आएका किसानले अपराधिक हर्कतको पनि सामना गर्नुपर्‍यो,’ चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले भने, ‘प्राकृतिक विपत्ती र मानवीय अपराधकर्मका कारण जिल्लाका केरा किसान निराश बने ।’

बीमा नगराउँदा झन् मारमा
यसपटक अधिकांश केरा किसानले बीमा गराएका छैनन् । अघिल्लो वर्ष २२ करोडको बीमा गरिएको थियो । यसपटक बीमाका लागि १७ करोड रकम आएपनि किसानहरु त्यसतर्फ आकर्षित नभएकाले क्षतिको मार किसानले नै भोग्नुपर्ने अवस्था आएको संघका अध्यक्ष पन्तले बताए ।

कालिका नगरपालिका केराको पकेट क्षेत्र हो । पूर्वी चितवनका पदमपुर, रत्ननगर, पिठुवा, जुटपानी चैनपुर, पश्चिम चितवनका जगतपुर, मंगलपुर र भरतपुर महानगरपालिका १ ठिमुरामा केरा खेती फस्टाएको छ ।

राहत दिने तयारी
हावाहुरीसहितको असिनाले कालिका नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म बढी क्षति पुर्‍याएको छ । केराका साथै मकै, तरकारी एवं फलफूलमा पनि ब्यापक क्षति पुगेको छ । तर क्षतिको एकिन विवरण आइसकेको छैन ।

कालिकाका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले क्षतिको तथ्यांक संकलन गर्ने काम सुरु गरिएको जानकारी थिए । प्रदेश नम्बर ३ का कृषि मन्त्री दावा दोर्जे लामा, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितको टोलीले अनुगमन गर्ने तयारी पनि भएको प्रमुख श्रेष्ठले बताए ।

सम्वन्धित वडाका वडाध्यक्ष, सदस्य एवम् टोल विकास संस्थाका अध्यक्षहरुलाई समेत क्षतिको अवस्थाबारे तथ्यांक संकलनमा सहयोग गर्न भनिएको नगरप्रमुख श्रेष्ठले बताए । दैवी विपत्तीमा परेकाहरुलाई नगरपालिकाले क्षतिको मूल्यांकनको आधारमा सकेको सहयोग गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ ।