काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते काठमाडौं आउने भएका छन् ।


ADVERTISEMENT


यसका लागि सरकारले तयारी तीव्र पारेको छ । मोदीको भ्रमणकै तयारीका लागि रक्षामन्त्री इश्वर पोखरेलले मुस्ताङ र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनकपुर पुगेर तयारीवारे जानकारी लिएका छन् ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री ज्ञवाली सोमवार जनकपुर पुगेका छन् भने रक्षामन्त्री पोखरेल शनिवार मुस्ताङ गएका थिए । वैशाख २८ गते मोदी जनकपुरबाट दुई दिने नेपाल भ्रमणको शुरु गर्देछन् । प्रधानमन्त्री मोदीलाई सोही दिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन् ।

साथै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् । भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले मुक्तिनाथको भ्रमण गर्नेछन् । मोदीले मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा बिताउने छन् ।

साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उनको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो ।

सन् २०१४ मा उनी दुई पटक नेपालको भ्रमणमा आएका थिए ।