काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी भएको सिंहदरबारभित्रको संरचनाको अवलोकन गरेकी छन् ।
आइतबार सिंहदरबार पुगेर पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संरचनाको अवलोकन गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले पुग्दा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्वागत गरेका थिए । त्यसपछि उनले सिंहदरबारको मुख्य भवन पुरानो प्रधानमन्त्री कार्यालय, ग्यालरी बैठक लगायतको अवलोकन गरेका थिइन् भने सञ्चारमन्त्री खरेलले क्षति र पुननिर्माणको तयारीका बारेमा जानकारी गराएका थिए ।
सिंहदरबारको अवलोकन गरेपछि पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा भाद्र २४ गते भएको घटनामा सिंहदरबारको महत्वपूर्ण संरचना जलेको देख्दा दुख लागेको भन्दै छिटै पुननिर्माण हुने विश्वास व्यक्त गरिन् । जेनजी आन्दोलनका क्रममा दुखद घटना घटेको भन्दै भविष्यमा यस्ता घटना दोहरिन दिन नहुने उनले बताइन् ।
जेन–जी आन्दोलनका क्रममा आगजनी हुँदा सिंहदरबारको पश्चिम भाग पूर्ण रुपमा क्षति भएको थियो भने अन्य मन्त्रालयहरुमा समेत आगजनी भएको थियो ।


























































