काठमाडौं– आज नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ चु निष्कासन गर्ने भएको छ। बैंकको मौद्रिक व्यवस्थापन विभागले एक वर्ष अवधिको लागि यो ऋणपत्र जारी गर्न लागेको हो।
आजै ऋणपत्रको निष्कासन प्रक्रिया सम्पन्न गरिनेछ। यस ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण हुने र आर्जित ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। लगानीकर्ता संस्थाहरूले न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ऋणपत्रको साँवा भुक्तानी एक वर्षपछि अर्थात् २०८३ साल पुस २४ गते हुनेछ।
बैंक तथा वित्तीय संस्थाहरूले यस ऋणपत्रलाई राष्ट्र बैंक वा अन्य वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन्। बोलकबोल स्वीकृत भएपछि निष्कासन मितिमा सम्बन्धित संस्थाको खातामा पर्याप्त रकम नभएमा राष्ट्र बैंकले स्वीकृत बोल रकम रद्द गरी २.० प्रतिशत हर्जाना तिराउनुका साथै आगामी ६ महिनासम्मका लागि बोलकबोलमा सहभागी हुन रोक लगाउने कडा व्यवस्था समेत गरेको छ।































































