काठमाडौं – बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य तथा स्वास्थ्यमन्त्री किरण थापा मगरको विशेष आतिथ्यतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि, समयसापेक्ष पाठ्यक्रम विकास तथा सुधारका उद्देश्यले एमबीबीएस पाठ्यक्रम विकास कार्यशाला कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले विगत लामो समयदेखि स्नातक तहको स्वास्थ्य शिक्षा प्रदान गर्दै आएको उल्लेख गरे। उनले संविधानले दिएको अधिकारअनुसार प्रदेश सरकारले चिकित्सा शिक्षासहित स्वास्थ्य क्षेत्रका गतिविधिहरू विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए।
मुख्यमन्त्री बानियाँले निजी क्षेत्रले लिएको एमबीबीएस शिक्षाको जिम्मेवारीलाई प्रदेश सरकारले अगाडि बढ्ने उद्देश्य रहेको बताए । चिकित्सा शिक्षा सञ्चालनको अनुमति प्राप्त गरिसकेको अवस्थामा उत्कृष्ट र गुणस्तरीय पाठ्यक्रम विकास गरी प्रतिष्ठान अघि बढ्ने विश्वास उनले व्यक्त गरे ।
उनले स्वास्थ्य र गुणस्तरीय शिक्षासँग जोडिएको चिकित्सक उत्पादनलाई समयअनुसार नवीन प्रविधिसँग समायोजन गर्दै अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताए। आवश्यक व्यवस्थापनका विषयमा निरन्तर लागिरहने र कुनै पनि किसिमको आर्थिक अभाव हुन नदिने प्रतिबद्धता समेत उनले जनाए।
“स्वास्थ्य नै मानिसको मूल धन हो,” मुख्यमन्त्री बानियाँले भने, “जीवन रह्यो भने मात्र सबै कुरा सम्भव हुन्छ। नागरिकको स्वास्थ्य राम्रो भए उनीहरूले स्वस्थ दिमागले देशका लागि योगदान दिन सक्छन्।”
उनले नेपालमा प्रजातन्त्र र गणतन्त्र स्थापनापछि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अझ सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे। हाल नेपालमा चिकित्सा शिक्षाबाट वार्षिक करिब आठ हजार विद्यार्थी उत्तीर्ण भए पनि करिब २६ सय जनाले मात्र अध्ययन गर्न पाउने अवस्थालाई दुर्भाग्यपूर्ण बताउँदै यसलाई अवसरमा बदल्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री बानियाँले चिकित्सक उत्तीर्ण विद्यार्थीलाई नेपालमै अध्ययन तथा तालिमको अवसर उपलब्ध गराई प्रदेश–प्रदेशमै चिकित्सक उत्पादन गर्ने र आधारभूत अस्पतालहरूमा गुणस्तरीय सेवा प्रवाह गर्न एमबीबीएस अध्ययन गरेका चिकित्सकको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।
बागमती प्रदेश सरकारले चिकित्सक अध्ययनलाई सहुलियतपूर्ण बनाउँदै देशभित्रै जनशक्तिको खपत, आकर्षण र भविष्यमा स्वास्थ्य सेवाको गुणस्तर अझ प्रभावकारी बनाउने लक्ष्य लिएको उनको भनाइ थियो।
































































