काठमाडौँ – लौरो अभियान, स्वतन्त्र अभियान र जेनजी अभियानले लौरो चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेको छ ।
उनीहरुले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारहरुले प्रयोग गरेको चुनाव चिह्नलाई राजनीतिक दलको चिन्हका रुपमा प्रयोग नगर्न माग गरेका हुन् । स्वतन्त्र चुनाव चिन्ह लौरोलाई काठमाडौं महानगर प्रमुख बालेन शाहले राजनीतिक बार्गेनिङको हतियारका रुपमा प्रयोग गरेको देखिएको उनीहरुको आरोप छ ।
रास्वपमा प्रवेश गरेसंगै लौरो चुनाव चिह्न बालेनको हुन नसक्ने भएकाले उक्त चूनाव चिन्ह स्वतन्त्र समूहलाई सम्मानजनक रुपमा फिर्ता गर्न माग गरिएको लौरो अभियानका डम्बर साहुले बताए । उनले लौरो चुनाव चिन्ह स्वतन्त्रहरुको प्रतीक मात्र नभई आस्था, धरोहर र स्वतन्त्रहरुको मन्दिर समेत भएको उल्लेख गरे ।
उनीहरुले लौरो अभियान वा लौरो चुनाव चिन्हलाई व्यक्तिवादी कव्जा र सौदावाजीबाट मुक्त राख्न कुनै पनि मूल्य चुकाउन तयार रहेको धारणा राखेका छन् । एक साताभित्र उक्त चुनाव चिन्ह फिर्ता नभए बालेन शाहको घर/कार्यालयको गेटमा नै विरोध तथा धर्नाका कार्यक्रम गरि उनीहरुले जनाएका छन् ।































































