काठमाडौं – मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका थप चार जनाको शव फेला परेको छ। खोजी तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार चार शव फेला पारेको हो।

पासाङकाजी शेर्पाको नेतृत्वमा परिचालित अनुभवी माउन्टेन गाइड टोलीले प्रतिकूल मौसमका बाबजुद खोजी कार्यलाई निरन्तरता दिएको थियो। सोही क्रममा चार जनाको शव फेला परेको एसोसिएसनले जनाएको छ।

यससँगै हिमलुङ हिमपहिरोमा मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ। गत असोज ९ गतेदेखि मौसम प्रतिकूल बनेपछि हिमलुङ हिमालमा हिमपहिरो गएको थियो।

हिमलुङ आधार शिविर क्षेत्रमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए। तीमध्ये हालसम्म ११ जनाको शव फेला परिसकेको छ भने अझै पाँच जना बेपत्ता छन्। खोजी तथा उद्धार कार्य जारी रहेको छ।