काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अहिले देशलाई बहुजातीय, बहुभाषिक द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेकाले त्यसप्रति सचेत रहनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार मनोहरा जेसीज १०औं पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले निर्वाचनका बेला राष्ट्रिय एकता र राष्ट्रियतामाथि नै प्रहार गरेर नेपाली समाजमा द्वन्द्व ल्याउने काम भइरहेकाले त्यसलाई रोक्न युवाहरु सजक हुनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘आज मन्दिरको घण्टी बोक्ने र हजारजनाको बीचमा लगेर झुटो कुरा गर्ने, राष्ट्रिय जनावर गाईलाई काटेर खान पाउनुपर्छ भन्ने अभिव्यक्ति दिने गरेका छन् ।’ उनले भने, ‘निर्वाचनको बेलामा राष्ट्रिय झण्डाको दुरुपयोग गर्ने र सिंहदरबार जलाउन जानेहरुप्रति पनि युवा सचेत हुनुपर्छ ।’

यस्तै उनले जेसिसमा रहेका युवाहरुले निर्वाचनको बेलामा भ्रम सिर्जना गर्ने पार्टीहरुलाई चिर्नुपर्ने बताए । यस्तै उनले संस्कार बिनाको समाज अघि बढ्न नसक्ने बताउँदै नेपाललाई बदल्नका लागि र जनतालाई गौरवशाली बनाउनका लागि जेसीजले अझ सक्रिय भएर लाग्नुपर्ने बताए ।

नयाँ पस्ताले नेपाली संस्कार बिर्सिँदै गएको र नैतिकता समेत हराउँदै गएकाले यसलाई जर्गेना गर्न जेसीजले भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘आजको युवा पुस्ता मोबाइलमा घोप्टिएर बसेका छन, मन्दिरमा ढोक्न जान्दैनन्, आमाबुवाको खुट्टामा निहुरिन जानेको छैन। यो हाम्रो संस्कार र नैतिकताको पतन हो।’

जेसीजले गर्ने समाज रुपान्तरणका लागि आगामी दिनमा बागमती प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउँदै उनले जेसीजका लागि भवन बनाउन जग्गा प्राप्तीमा पहल गर्ने प्रतिवद्धता जनाए ।