काठमाडौं–सरकारले वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि एकतर्फी रुपमा लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्न पहल थालेको छ । श्रम मन्त्रालयले भिसा शुल्क पनि खारेज गर्न कूटनीतिक पहल गर्ने समेत बताएको छ । मलेसियामा नयाँ सरकार बनेकाले नेपालको पहललाई सकारात्मक रुपमा लिने विश्वास रहेको श्रममन्त्री गोकर्ण विष्टले बताएका छन् ।


ADVERTISEMENT


मलेसिया जाने नेपाली कामदारहरुमथि विभिन्न नाममा अतिरिक्त शुल्क बुझाउनुपर्छ । भिसा शुल्कबापत नेपालस्थित मलेसियन दूतावासले सात सय रुपैयाँ लिन्छ । तर, यसबाहेक कामदारले झण्डै १७ हजार रुपैयाँ विभिन्न संघसंस्थाहरूलाई बुझाउनुपर्छ । भीएलएन नामक संस्थाले भिसा प्रक्रियाका नाममा पाँच वर्षदेखि ३२ सय रुपैयाँ असुल्दै आएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै, वान स्टप सेन्टरले राहदानी संकलनका नाममा २८ सय रुपैयाँ संकलन गर्छ । माइग्राम नामको संस्थाले पनि विगत दुई वर्षदेखि नेपाली कामदारबाट स्वास्थ्य परीक्षणका नाममा प्रतिकामदार ३२ सय रुपैयाँ शुल्क उठाउँदै आएको छ । वायोमेट्रिकका नाममा अर्को ४५ सय रुपैयाँ बुझाउनुपर्छ ।

दुई वर्ष अघिदेखि आपराधिक गतिविधिमा संलग्न भए–नभएको परीक्षण गर्ने नाममा जिएससी भन्ने संस्था खडा गरेर (आईएससी)का नाममा प्रतिकामदार थप ३ हजार २ सय रुपैयाँ थप शुल्कको भार पनि थोपरिँदै आएको छ ।

झण्डै पाँच वर्षअघिदेखि मलेसियन सरकारकै संरक्षकत्वमा यी संस्थाले नेपाली कामदारबाट अतिरिक्त शुल्क असुल्दै आएका छन् । तर, नेपाल सरकारले एकतर्फी रुपमा सबै अतिरिक्त शुल्क खारेजको निर्णय लिएको छ ।