काठमाडौं–महाराजगञ्ज र नयाँबानेश्वर चोकको परीक्षण सफल भएपछि काठमाडौंमा पुरानै ट्राफिक लाइट पुनः प्रयोगमा ल्याइने भएको छ ।


ADVERTISEMENT


सबै चोकहरुका ट्राफिक लाइटहरु सडक विभागले सञ्चालनमा ल्याउन लागेको हो । यसका लागि अध्ययन सकिएको विभागले जनाएको छ । मर्मत गरेर बालिएका पुरानै बत्तीले ट्राफिक व्यवस्थापन सजिलो बनाएकाले अन्य चोकमा पनि बल्न छाडेका बत्तीलाई पुनः प्रयोग गर्न लागिएको विभागमा ट्राफिक इकाइ प्रमुख दीप बिरहीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि एसियाली विकास बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा ‘इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम’ जडान गर्न खोजिएको थियो तर, सफल भएन । नयाँ लाइट जोडान नहुने भएपछि पुरानै ट्राफिक लाइटहरु मर्मत गर्न लागिएको हो ।

गत कार्तिकमा काठमाडौं महानगर, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै लाइट मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पनि तत्काल लाइट मर्मत गरेर सञ्चालनमा ल्याउन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नयाँबानेश्वर र महाराजगञ्जको वत्ति मर्मत गरेर परीक्षण गरिएको थियो ।

नयाँबानेश्वरमा बत्ती मर्मत गर्न १५ लाख लाग्यो भने महाराजगञ्जमा २७ लाख । महाराजगञ्जको मर्मत खर्च काठमाडौं महानगरले व्यहोरेको छ । बानेश्वर र महाराजगञ्जमा लाइट सञ्चालनमा आएपछि ट्राफिक व्यवस्थापन केही सहज भएको छ ।

सडकका वत्तिहरु ०६५ सालमा जापानी सहयोग नियोग जाइकाको सहयोगमा जडान गरिदिएको थियो । तर, पछिल्लो समय अधिकांश अलपत्र छन् । सडक विभागका ट्राफिक इकाई प्रमुख बिरहीका अनुसार कोटेश्वर पूर्वका लाइटहरु समान्य मर्मत गरेर चलाउन सकिने अवस्थामा छन् । अन्य लाइटका लागि भने प्रत्येकलाई मर्मत गर्न औसतमा २० लाख रुपैयाँ खर्च गर्नुपर्छ । उपत्यकाका २० भन्दा बढी स्थानका ट्राफिक बत्ती बिग्रिएका छन् ।

‘सकेसम्म चाँडै लाइट बाल्छौं,’ बिरहीले भने, ‘काठमाडौंमा सवारी जाम र व्यवस्थापनको कठिनाइ हटाउन यो काम तत्कालै गर्न जरुरी छ ।’

लाइट नहुँदा दुर्घटना बढिरहेकाले तत्काल मुख्य चोकहरुमा यसको व्यवस्थापन गर्नुपर्ने माग महानगरीय ट्राफिक प्रहरी महाशाखाले पटक–पटक गरेको छ । लाइट नहुँदा आवश्कताभन्दा पाँच गुणा बढी ट्राफिक प्रहरीलाई सडकमा सवारी आउजाउ व्यवस्थापनका लागि खटाइरहनु परेको छ ।