काठमाडौं–नवगठित नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी सदस्यहरु छान्न अध्यक्ष प्रचण्डलाई सकस परेको छ । ४३ सदस्यीय स्थायी समितिमा विघटित एमालेबाट २५ जना र विघटित माओवादी केन्द्रबाट १८ जना नेता रहने भनिएको छ ।


ADVERTISEMENT


तर तत्कालीन माओवादीबाट १० जनाको नाम टुंगो लागिसके पनि बाँकी नेताहरुको नाम छनोट गर्न प्रचण्डलाई अप्ठेरो परेको छ ।


ADVERTISEMENT

# # #


स्रोतका अनुसार पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, वर्षमान पुन ‘अनन्त’, जनार्दन शर्मा ‘प्रभाकर’, शक्ति, पम्फा भुसाल र देव गुरुङ स्थायी समितिमा रहने लगभग पक्का छ । तर बाँकी नेताहरुको टुंगो लागिसकेको छैन ।

मधेसबाट मात्रिका यादवको सम्भावना छ । तर, मधेसबाटै रामचन्द्र झा र प्रभु साह पनि बलियो दाबेदार छन् । नेकपा संयुक्तबाट तत्कालीन नेकपा माओवादी केन्द्रमा आएका गणेश साहको दावी पनि स्वाभाविक छ ।

यसैगरी पुराना नेता अग्नि सापकोटा पनि स्थायी समितिमा पर्ने सम्भावना रहेको स्रोतले बतायो । यस्तै सिन्धुलीका हरिबोल गजुरेल, प्युठानका मणि थापा र कैलालीका लेखराज भट्टले पनि स्थायी समितिमा दावी गरेका छन् । नयाँ शक्तिबाट तत्कालीन माओवादी केन्द्रमा आएकाहरूबाट देवेन्द्र पौडेललाई पनि स्थायी समितिमा लैजानुपर्ने दबाव प्रचण्डलाई छ ।

त्यसैले प्रचण्डले कसकसलाई स्थायी समितिमा राख्ने भनेर निर्णय लिन सकेका छैनन् । तर, प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले भने नामावली टुंगो लगाउन गाह्रो नभएको बताए । उनले अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा व्यस्त रहेको बताउँदै छिटो टुंगोमा पुग्ने बताए ।

यसबारे निर्णय गर्ने अधिकार प्रचण्ड, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’लाई दिइएको छ । पोलिटव्यूरो तत्काल नबनाउने र केन्द्रीय समिति ४४१ सदस्यीय बनाउने यसअघि नै सहमति भइसकेको छ ।