काठमाडौं–प्रधानमन्त्री ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली कांग्रेस नझस्कन आग्रह गरेका छन् । नेकपाको गठनपछि पहिलो बैठक बसेको पार्टीका संघीय संसद्का सदस्यको बैठकलाई अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सबैभन्दा लोकतन्त्रवादी दल नेकपा भएको दाबी गर्दै भने, ‘हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौं । नआत्तिए हुन्छ ।’


ADVERTISEMENT


ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गरे । दुई पार्टीबीच यही जेठ ३ गते एकता भएको थियो ।


ADVERTISEMENT

# # #


उनले भने, ‘हामी नेपाललाई आगामी १० वर्षभित्र मान्छे र प्रकृतिको संयुक्त प्रयासबाट बनेको स्वर्ग भएको देखाउन चाहान्छौं, विदेशी पर्यटक आएर नेपालको प्रशंसा गरेर फर्केर जाने अवस्था आउनेछ ।’

एक महिनापछि चीन भ्रमण
प्रधानमन्त्री ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको बताए ।

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क), बिमस्टेकलगायतका क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चलाई सक्रिय गराउन नेपालले प्रयास गर्ने स्पष्ट गरे ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको स्वरूप परिवर्तन हुने
प्रधानमन्त्री ओलीले सांसदहरूले निर्वाचन क्षेत्र विकास पूर्वाधार विकास कार्यक्रम ढाँचा परिवर्तन हुने बताएका छन् ।

‘हामी निर्वाचन क्षेत्रको विकास गर्ने नै हो, यसमा विवाद छैन तर समानुपातिकका र राष्ट्रियसभाका सदस्यलाई कुन निर्वाचन क्षेत्रमा राखेर बजेट दिने भन्ने पनि अन्योल छ, हामीले गर्ने क्षेत्रको विकास हो, त्यसो गर्दा सांसदहरू बद्नाम नहुन् भन्नेमा पनि हामी सचेत हुनुपर्छ, यसमा सांसदहरूको नेतृत्वमा छानिएका योजनालाई कार्यान्वयन गर्ने गरी जान सकिन्छ,’उनले भने ।