काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।
ललितपुरमा मंगलबारदेखि सुरु अभिमुखीकरणमा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी लगाएतका बिषयमा प्रशिक्षित गराइने रास्वपाले जनाएको छ ।
अभिमुखीकरण सत्रलाई सम्बोधन गर्दै पार्टीका उपसभापति डीपी अर्यालले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले सफलता हासिल गरे पनि देश र जनताले अझै जित्न बाँकी रहेको बताए। उनले सबै नेपालीलाई “सरकार मेरो लागि छ” भन्ने अनुभूति दिलाउने गरी सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यमा केन्द्रित हुन सांसदहरुलाई आग्रह गरे।
अर्यालले पार्टीप्रति जनताको विश्वास नेतृत्वप्रतिको आशा, भरोसा र क्षमताका कारण प्राप्त भएको उल्लेख गर्दै त्यसलाई जोगाउँदै राष्ट्र निर्माणमा योगदान दिनुपर्ने बताए। उनले सांसदहरुलाई आफ्नो क्षमता र प्रतिबद्धता राष्ट्रका लागि सदुपयोग गर्न आग्रह गरे। उपभापति अर्यालले निर्वाचनमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहप्रतिको आशा, भरोषा, विश्वास र क्षमताका कारण जनताको विश्वास प्राप्त भएको उल्लेख गरे । सवैको लगनशीलता, क्षमता राष्ट्रका लागि सम्पदै इतिहास लेख्ने अवसरलाई सदूपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, उपसभापति डा.स्वर्णिम वाग्लेले पार्टीले ठूलो जनमत प्राप्त गरेको अवस्थामा अझ जिम्मेवार र सचेत भएर काम गर्नुपर्नेमा जोड दिए। उनले आफूहरु कानून निर्माणका लागि संसदमा पुगेको बताउँदै सरकारमा भए पनि नभए पनि सरकारको कामको समीक्षा, अनुगमन र निगरानी गर्नुपर्ने धारणा राखे। पदको गरिमा जोगाउन थप मेहनत आवश्यक रहेको उनले बताए।
संसदको संरचना तथा कार्यप्रणाली सांसदका अधिकार र जिम्मेवारी, देशको वर्तमान अवस्था र पार्टीका प्रतिवद्धता, कानून निर्माण प्रक्रियामा सांसदहरुको भूमिकाका बिषयमा बिज्ञहरुमार्फत अभिमुखीकरण गराइने सो पार्टीले जनाएको छ । त्यसैगरि योजना बजेट निर्माण सुशासन र राजनीतिक संस्कार बिकासका बिषयमा समेत नवनिर्वाचित सांसदहरुलाई अभिमुखीकरण गराइने नेताहरुले जानकारी गराएका छन् ।
अभिमुखीकरणमा सहभागीलाई मोवाईल निषेध गरिएको छ । पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरि बुधबार अभिमुखीकरण कार्यक्रम समापन हुने नेताहरुले जनाएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातीक निर्वाचन प्रणालीतर्फ ५७ गरि १८२ सीट हासिल गरेको छ ।



























































