काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र टाइम फर्मास्युटिकल्स लिमिटेड बीच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालनका लागि सम्झौता सम्पन्न भएको छ।


ADVERTISEMENT


उक्त सम्झौताअनुसार कम्पनीले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन प्रक्रियामा जाने भएको छ। प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको ४ लाख ३४ हजार ६ सय कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताका लागि शिलबन्दी बोलपत्रमार्फत प्रस्ताव गरिनेछ।


ADVERTISEMENT

# # #


सम्झौतामा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई र टाइम फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठ ले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनी सचिव सुदिप घिमिरे तथा शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट का प्रतिनिधि मनोहर कडेलको पनि उपस्थिति रहेको थियो।

कम्पनीले कुल १० करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १० लाख ८६ हजार ५ सय कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको जनाएको छ। यसमध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्तालाई र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ।

शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड रुपैयाँ पुग्नेछ। तीन दशकभन्दा लामो समयदेखि औषधि उत्पादनमा संलग्न टाइम फर्मास्युटिकल्सले नवलपरासीको गैँडाकोटस्थित मुख्य कार्यालय र उत्पादन प्लान्टमार्फत सञ्चालन गर्दै आएको छ भने ललितपुरको सातदोबाटोमा मार्केटिङ कार्यालय रहेको छ। कम्पनीले करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी दिँदै २०० भन्दा बढी औषधि उत्पादन गर्दै आएको जनाएको छ।