काठमाडौँ– सत्ता साझेदार प्रमुख दुई दल, प्रमुख प्रतिपक्षी दल एवम् राष्ट्रिय जनता पार्टी नेपालबीचमा संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द), नेकपा (एमाले) र राजपा नेपालका शीर्ष नेता सहभागी बैठकमा सोका लागि प्रमुख प्रतिपक्षी दल एमालेलाई आफ्नो अडानमा लचिलो बन्न आग्रहसमेत गरिएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सो बैठकमा व्यवस्थापिका–संसद्को आगामी बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने र पारितसमेत गर्न लगभग सहमति भएको बैठकपछि नेताहरुले सञ्चारकर्मीलाई जानकारी दिए।

व्यवस्थापिका–संसद्को अर्को बैठक आगामी जेठ ४ गते बस्दैछ । सो बैठकमा सरकारले संविधान संशोधनको प्रस्ताव पुनः पेस गर्दैछ । बैठकले काँग्रेसका सभापति शेरबहादुर देउवा एवम् प्रधानमन्त्री प्रचण्डलाई संविधान संशोधनका गर्नका लागि सदनमा आवश्यक दुई तिहाइ मत पुर्याउन प्रमुख प्रतिपक्षी दललगायत अन्य दलसित वार्ता गर्न र सहमति जुटाउन जिम्मेवारीसमेत प्रदान गरेको छ ।
“दुई शीर्ष नेताले आजबाटै प्रमुख प्रतिपक्षी दलका नेता एवम् अन्य दलका नेतासित घनीभूत छलफल सुरु गर्नुहुनेछ”, बैठकपछि माओवादी केन्द्रका नेता दीनानाथ शर्माले भने । उनका अनुसार दलहरुबीच संविधान संशोधन गरी अगाडि बढ्ने मोटामोटी सहमति भएको छ ।

बैठकमा आसन्न वैशाख ३१ गते र आगामी जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन सौहार्दपूर्ण ढङ्गल सम्पन्न गर्ने विषयमा पनि ती कुराकानी भएको थियो । बैठकमा नेता देउवा र प्रधानमन्त्री प्रचण्डले विशेषगरी प्रमुख प्रतिपक्षी दललाई संविधान संशोधन गर्नका लागि सहयोग गर्न र मधेस केन्द्रित दललाई निर्वाचनमा जुट्न आह्वान गर्नुभएको नेता शर्माले जानकारी दिए ।

एमाले संविधान संशोधनको विरोधी होइनः गौतम

बैठकमा सहभागी एमालेका उपाध्यक्ष वामदेव गौतमले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल एवम् राजपाका बीचमा संविधान संशोधनका विषयमा सौहार्दपूर्ण वातावरणमा विचार आदानप्रदान भएको जानकारी दिए । उनले भने, “हाम्रो पार्टी संविधान संशोधनको विरोधी होइन, सबैलाई सर्वस्वीकार्य हुने गरी संशोधन आउनुपर्छ । यसमा पार्टीले सहयोग गर्छ ।”

सरकारले ल्याएको संशोधन प्रस्तावमा रहेका केही बुँदामा आफ्नो पार्टीको असहमतिसमेत रहेको उपाध्यक्ष गौतमले बताए । नेता गौतमका साथमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको पनि सहभागिता थियो ।

झुक्याउने र फकाउने काम भयोः महतो

राजपाका नेता राजेन्द्र महतोले तराई÷मधेसमा समेत निर्वाचन गराउन सरकारले संविधान संशोधन गर्नुपर्छ, यसबाट मात्र आफ्नो पार्टीलाई निर्वाचनमा भाग लिने बाटो खुला हुने बताए । उनले भने “सत्तारुढ दलहरुका नेता संविधान संशोधन गर्छु गर्छु भन्नुहुन्छ, खोइ त भएको ? हामीले बैठकमा स्पष्ट भनिदियौँ, अब पनि हामीलाई झुक्याउने र फकाउने काम भयो भने जेठ ३१ को स्थानीय निर्वाचनमा भाग लिँदैनौँ ।”

नेता महतोले हालसम्म तराई/मधेस आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपूर्ति र बन्दी रिहाइ सरकारका तर्फबाट नभएको भनी असन्तुष्टिसमेत व्यक्त गरे ।

बैैठकमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति देउवा, एमाले उपाध्यक्ष गौतम, उपप्रधानममन्त्री विमलेन्द्र निधि, राजपाका नेता महन्थ ठाकुर, महतो, अनिल झालगायत नेता उपस्थित थिए ।