नवलपुर – नवलपुरको गैंडाकोट नगरपालिका–स्थित भृकुटी कागज कारखाना पुनः सञ्चालन गर्न तथा श्रमिकहरूको बक्यौता पारिश्रमिक भुक्तानी गर्न माग गर्दै स्थानीय युवाहरूले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेका छन्।


ADVERTISEMENT


“सफा सुन्दर हरियाली गैंडाकोट निरन्तर शनिबार अभियान” को पहलमा पेश गरिएको ज्ञापनपत्रमा २०४० सालमा स्थापना भई सञ्चालनमा आएको उक्त कारखाना २०६७ सालदेखि पूर्ण रूपमा बन्द भएपछि जीर्ण अवस्थामा पुगेको उल्लेख गरिएको छ।


ADVERTISEMENT

# # #


राज्य स्वामित्वमा स्थापना भई पछि निजी क्षेत्र (गोल्छा समूह) लाई हस्तान्तरण गरिएको कारखाना हाल खण्डहरमा परिणत भएको र दुर्व्यसनीहरूको स्थल बन्दै गएको स्थानीयले बताएका छन्। साथै, हुरीबतासका बेला कारखानाका टिनका संरचना उडेर आसपासका बस्तीमा त्रास फैलिने गरेको उल्लेख गरिएको छ।

ज्ञापनपत्रअनुसार, कारखाना बन्द भएसँगै करिब ३३३ जना मजदुरले ४० करोड रुपैयाँभन्दा बढी ज्याला अझै प्राप्त गर्न सकेका छैनन्। लामो समयसम्म पारिश्रमिक नपाउँदा केही मजदुरको मृत्यु समेत भइसकेको जनाइएको छ।

करिब ६० बिघा क्षेत्रफलमा फैलिएको उक्त कारखाना गैंडाकोट नगरपालिकाको केन्द्रमै रहेकाले यसको दुरवस्थाले नगरको विकास, सुन्दरता र समृद्धिमा नकारात्मक असर परेको स्थानीयको भनाइ छ।

अभियानले सरकारसमक्ष दुई मुख्य माग अघि सारेको छ। जसअनुसार मजदुरहरूको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न र कारखानाको जग्गालाई व्यवस्थित गरी कृषि, उद्योग वा नमूना बजारका रूपमा विकास गर्ने स्पष्ट योजना ल्याउन आग्रह गरिएको छ।

ज्ञापनपत्रमार्फत ५ दिनभित्र ठोस पहल नभए आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ।