चितवन — नेपाली कांग्रेस चितवनले वर्तमान सरकारका गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुग्ने काम भइरहेको आरोप लगाएको छ।
मंगलबार जारी प्रेस विज्ञप्तिमा कांग्रेसले जनमतबाट निर्वाचित सरकार नै पछिल्लो समय अलोकतान्त्रिक अभ्यासतर्फ उन्मुख भएको उल्लेख गरेको छ। विज्ञप्तिमा सरकारद्वारा कानुनी प्रक्रिया अवहेलना गर्ने, संवैधानिक अभ्यासलाई कमजोर पार्ने र एकलौटी निर्णय लिने प्रवृत्ति बढ्दो रहेको दाबी गरिएको छ।
कांग्रेस चितवनका अनुसार यस्ता गतिविधिले विधिको शासनमाथि नकारात्मक असर पार्दै लोकतन्त्रलाई कमजोर बनाउने खतरा बढाएको छ।
विज्ञप्तिमा विशेषगरी बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि लक्षित गरी गरिएको छानबिन र छापामार शैलीप्रति पनि आपत्ति जनाइएको छ। कांग्रेसले यसलाई राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको कार्य भन्दै सूचना अधिकार र कानुनी प्रक्रियाको समेत बेवास्ता गरिएको आरोप लगाएको छ।
“सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध लामो समयदेखि लागिपरेको व्यक्तिमाथि यस प्रकारको व्यवहार हुनु सामाजिक तथा राजनीतिक प्रतिशोधको संकेत हो,” विज्ञप्तिमा भनिएको छ।
त्यस्तै, कांग्रेसले छानबिन प्रक्रियामा पारदर्शिता, निष्पक्षता र कानुनी आधार सुनिश्चित गर्न माग गरेको छ। अनुसन्धानका नाममा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप वा प्रतिशोध स्वीकार्य नहुने पार्टीको चेतावनी छ।
कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्पूर्ण घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको छ।
























































