सिन्धुली – नेपाली कांग्रेस सिन्धुलीले वर्तमान सरकारले गरिरहेको भनिएका अलोकतान्त्रिक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
जिल्ला कार्यसमिति सिन्धुलीद्वारा जारी प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार हुने गतिविधि स्वीकार्य नहुने उल्लेख गरिएको छ।
विज्ञप्तिमा लोकतन्त्रको रक्षा गर्न लामो संघर्ष र बलिदानबाट स्थापित व्यवस्था कमजोर पार्ने कुनै पनि प्रयास लोकतान्त्रिक पद्धतिविरुद्ध हुने बताइएको छ। कांग्रेस सिन्धुलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने, राजनीतिक प्रतिशोध साँध्ने तथा राज्य संयन्त्रको दुरुपयोग गर्ने कार्यप्रति आपत्ति जनाएको छ।
त्यस्तै, बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँमाथि राजनीतिक पूर्वाग्रहका आधारमा भइरहेको गतिविधिप्रति पनि गम्भीर चिन्ता व्यक्त गरिएको छ। विज्ञप्तिमा सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सक्रिय व्यक्तिमाथि गरिएको यस्तो व्यवहार लोकतान्त्रिक संस्कारविपरीत भएको उल्लेख छ।
कांग्रेस सिन्धुलीले राजनीतिक प्रतिशोधको भावना त्यागेर कानुनी राज्यको मर्मअनुसार अघि बढ्न सरकारलाई आग्रह गरेको छ। साथै, नागरिक स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनीसमेत दिएको छ।



























































