कपिलवस्तु – शिवराज नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा आर्थिक वर्ष २०८१/०८२ मा भएको आर्थिक कारोबारमा अनियमितता तथा रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका पाँच जना कर्मचारी पक्राउ परेका छन्।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालको सेवा शुल्क तथा फार्मेसीबाट औषधि बिक्री वापत संकलन भएको रकम बैंकमा जम्मा नगरी हिनामिना गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको हो।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार अस्पतालको मुख्य आम्दानी स्रोतबाट संकलित रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा गर्नुपर्ने व्यवस्था भए पनि विभिन्न मितिका १२१ वटा भौचरअनुसारको रु ३८ लाख ११ हजार ७ सय ७० रकम बैंकमा जम्मा नभएको पाइएको छ।

यस विषयमा शिवराज नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेल्बासेले उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सरकारी अस्पतालको नक्कली भौचर तयार गरी संगठित रूपमा आर्थिक हिनामिना गरिएको भेटिएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराई, मेडिकल सुपरिटेन्डेन्ट अमित पाण्डेय, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर कमलप्रसाद भण्डारी, अस्पतालका फार्मेसी सहायक रुक्साना खातुन तथा बैंकका कर्मचारी विक्रम केसी रहेका छन्।

प्रहरीले उनीहरूविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ।