चितवन(रासस)–जिल्ला प्रशासन कार्यालयले समयमा निर्माण सम्पन्न नगर्ने ३८ आयोजनाका २७ निर्माण कम्पनीको नाम गृह मन्त्रालय पठाएको छ । मिति थप भई काम गरेका र मिति बाँकी रहेका बाहेक कामै छाडेर बसेका कम्पनीको नाम मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताएका छन् ।


ADVERTISEMENT


निर्माण कम्पनीमध्ये तीन वटाले तीन तीन योजना अधूरो बनाएर छाडेका छन् । तिनमा निर्माण सेवा धादिङ, आजीवन निर्माण सेवा धादिङ र डिभाइन लाइट कन्स्ट्रक्सन भरतपुर छन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी पूजा कन्स्ट्रक्सन धादिङ र पृथ्वी निर्माण सेवा धादिङले पनि दुई दुई आयोजना अलपत्र बनाएर छाडेको जिप्रकाले जनाएको छ । काम अधूरो छाड्ने मध्ये चितवनका ११ तथा अन्य धादिङ र काठमाडौँका छन् । अधूरो काम छाड्ने अन्य कम्पनीमा भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन धादिङ, प्यालदोर हिमाल निर्माण सेवा धादिङ, ओएस इञ्जिनीयरिङ निर्माण सेवा, विराज/शिवशक्ति/न्यू तीन कन्या जेभी चितवन छन् ।

त्यसैगरी प्यासिफिक बिल्डर्स सुकेधारा काठमाडौँ, जेएनडी कन्स्ट्रक्सन, दीपश्री इञ्जिनीयरिङ काठमाडौँ, काष्ठमण्डप कन्स्ट्रक्सन काठमाडौँ, आजीवन/न्यू/तीनकन्या जेभी, इशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बरङ्ग कन्स्ट्रक्सन एण्ड सप्लायर्स, रुपल सुप्रिम कन्स्ट्रक्सन, सूर्यश्री कन्स्ट्रक्सन, इको इञ्जिनीयरिङ र नेपाल तराई निर्माण तथा डिपट्यूबवेल प्रालि भरतपुर छन् ।

समयमै काम नगर्ने अन्य निर्माण कम्पनीमा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन भरतपुर, महादेव ड्रिलिङ खैरहनी, भीमज्योति एमआर जेभी भरतपुर, चिता एण्ड सल्लेरी एशोसिएसट भरतपुर र पाल्पा इञ्जिनीयरिङ परासी छन् ।

प्रजिअ बस्नेतले समयमा काम नगर्ने र काम छाड्ने निर्माण कम्पनीका सञ्चालकलाई मन्त्रालयको निर्देशनानुरुप कारवाहीको दायरामा ल्याइने बताएका छन् । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले निर्माण व्यवसायीलाई नीतिनियमअनुसार कारवाही गर्न सकिने तर मन्त्रालयले थुन्न नपाउने बताएका छन् ।