सोलुखुम्बु(रासस)–माथिल्लो सोलु हाइड्रोपावरको फिल्ड कार्यालयमा लागेको ताला ११ दिनपछि मंगलबार खुलेको छ ।


ADVERTISEMENT


आयोजनाले पार्टीको नाममा शेयर जारी गरेको भन्दै स्थानीय प्रभावितले गत जेठ ६ गते फिल्ड कार्यालयमा ताला लगाएका थिए । आयोजना र स्थानीय प्रभावितबीच विभिन्न विषयमा सहमति भएसँगै ताला खोलिएको सोलुदूधकुण्ड नगरपालिका–२ का वडाध्यक्ष मिङ्मार शेर्पाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


जिल्लाका तीन ठूला पार्टीको नाममा रु छ करोडको शेयर जारी गरेको भन्दै जनप्रतिनिधिसहितको टोलीले विरोधसहित स्थानीयको नाममा शेयर जारी गर्नुपर्ने एकसुत्रीय माग राख्दै ताला लगाएको थियो । आयोजनाले कुनै पनि पार्टीको नाममा शेयर जारी नगरेको भन्दै मंगलबार भएको सहमतिअनुसार अब जारी हुने शेयर जनताको नाममा हुने सहमति पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, आयोजनाले अतिप्रभावित र प्रत्यक्ष प्रभावितकालागि संस्थापक शेयरबापत चार लाख कित्ता शेयर वितरण गर्ने, साधारण शेयरसमेत सोलुदूधकुण्ड नगरपालिकालाई नियमअनुसार वितरणका लागि नियामक निकायसमक्ष पहल गर्ने सहमतिपत्रमा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।

सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा तथा विभिन्न वडाका वडाध्यक्षसहितको उपस्थितिमा गरिएको सहमति पत्रमा प्रभावितका तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष मिङ्मार शेर्पा र वडा नम्बर ४ का वडाध्यक्ष दावागेलु पाख्रिनले हस्ताक्षर गरेका छन्भने आयोजनाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शशीसागर राजभण्डारीले हस्ताक्षर गरेका छन् ।