काठमाडौं–नेपाली ध्वजाबाहक पानीजहाज चलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको उच्च प्राथमिकतामा परेको योजना हो । यो आफूले राति नभई दिउँसै देखेको सपना भएको भन्दै उनले पूरा गरेरै छाड्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीसँगै सत्तारुढ दलका सांसदहरुले पनि पानी जहाज चढ्ने सपना देख्न थालिसकेका छन् । नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले त विपक्षी दलका सांसद मिनेन्द्र रिजाललाई कोशीबाट पानी जहाज चढेर हिन्द महासागरसम्मसँगै यात्रा गर्ने प्रस्तावसमेत राखिसकेका छन् ।
तर, यो वर्ष पानी जहाज अध्ययनमै सीमित रहने भएको छ । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोशी गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने बताए ।
अर्थ मन्त्रालयको रातो कितावअनुसार यो वर्ष जलमार्गको लागि १ करोड ६१ लाख बजेट छुट्याएको छ । जसमा १ करोड अध्ययन तथा परामर्शमा मात्रै खर्च हुनेछ । सरकारले यो आयोजनालाई पहिलो प्राथमिकता प्राप्त आयोजनाको सूचीमा राखेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको क्रममा दुई देशबीच अन्तरदेशीय जलमार्ग विकासका विषयमा पनि समझदारी गरेका थिए । जलमार्ग भएर नेपाल र भारतबीच सामान ओसारपसार गर्न दुई देशका प्रधानमन्त्री सहमत भएपछि सरकारले नेपालमा जलमार्गको अध्ययन अघि बढाउन लागेको हो ।
सो सहमतिपत्रमा व्यापार तथा पारवहन व्यवस्थाको अधीनमा रहेर दुई देशमा सामान ओसारपसार गर्न अन्तरदेशीय जलमार्गको विकास गर्ने उल्लेख छ । जलमार्गले नेपाललाई समुद्रसम्मको पहुँच दिने र सामान ओसारपसारमा सहज हुने सरकारको विश्वास छ ।