काठमाडौं–वेस्ट इन्डिजले आइसिसि विश्व–११ को टोलीलाई मैत्रीपूर्ण ट्वान्टी–२० खेलमा ७२ रनको फराकिलो अन्तरले हराएको हो । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले २ सय रनको योगफल पछ्याउने क्रममा १ सय २७ रनमा अलआउट भएको थियो ।


ADVERTISEMENT


टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन जोडेको थियो । उसका लागि ओपनर एभिन लेविसले ५८ रन जोडेका थिए । २६ बल मात्र खेलेका उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै मार्लोन स्यामुएल्सले ४३ तथा दिनेश राम्दीनले ४४ रन जोडे भने ओपनर क्रिस गेल १८ रनमा आउट भए ।


ADVERTISEMENT

# # #


आन्द्रे रसलले पनि १० बलमा २१ रन जोडेपछि वेष्टइन्डिज सम्मानजनक योगफल बनाउन सफल भयो । विश्व ११ का लागि राशिद खानले २ तथा सोहेब मलिक र शाहिद अफ्रिदीले १–१ विकेट लिए । सन्दीपले १ ओभर मात्र बलिङ गर्दै १२ रन खर्चेका थिए ।

जवाफमा विश्व ११ ले खराब सुरूआत गर्‍यो । ८ रनको स्थितिमा ४ विकेट गुमाएको विश्व ११का लागि मध्यक्रममा थिसरा परेरालेबाहेक अन्यले प्रदर्शन गर्न सकेनन् । परेराले ३७ बलमा ७ चौका र ३ छक्काको मदतले ६१ रन बनाए ।

तामिम इकबाल २, स्याम बिलिङ्स ४, दिनेश कार्तिक र लुक रोन्ची शून्य रनमै आउट भए । यस्तै कप्तान शाहिद अफ्रिदीले ११ रन बनाउँदा सोहेब मल्लिकले १२ रन जोड्न सके । रासिद खानले ९ तथा मिचेल मक्लिनाघनले १० रनमात्र जोड्न सके ।

१० औं नम्बरमा ब्याटिङ गर्न आएका सन्दिपले ५ बलमा ४ रन जोडेर नटआउट रहे । टिमल मिल्स चोटका कारण ब्याटिङ गर्न नसकेपछि सन्दीपले ब्याटिङको मौका पनि पाएका थिए । उनले मिचेल मक्लिनाघनसँग नवौं विकेटका लागि १९ रनको साझेदारी गरे ।

वेस्ट इन्डिजका लागि केज्रिक विलियम्सले ३ तथा स्यामुएल बद्रि र रसलले १–१ विकेट लिए । यस खेलमा उठेको पैसा सन् २०१७ मा क्यारेबियन क्षेत्रमा आएको आँधीबाट प्रभावित रंगशालाको पुनर्निर्माण तथा पीडितहरुको सहयोगका लागि खर्च गरिनेछ ।