झापा(रासस)–जातीय विभेदका कारण दलित विद्यार्थीलाई गुरुकुलमा भर्ना नलिएको भन्दै दुई सातादेखि आन्दोलनमा उत्रिएका दलित समुदायले आफ्नो आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।


ADVERTISEMENT


संवाद समूह झापाको संयोजन र मानवाधिकारवादीको सहजीकरणमा हिजो बिर्तामोडमा भएको छलफलमा पाँचबुँदे सहमति भएसँगै संघर्ष समितिले आन्दोलन स्थगित गरेको हो ।


ADVERTISEMENT

# # #


छलफलमा संविधानप्रदत्त समानताको हक, सामाजिक न्यायको हकप्रति प्रतिबद्ध हुँदै राष्ट्रिय गुरुकुल शिक्षा परिषद् झापाले आगामी दिनमा सबैको भावनाको सम्मान गरेर बिना भेदभाव, गुरुकुलमा इच्छुक विद्यार्थीलाई आवाससहित पठनपाठनको व्यवस्था मिलाउने सहमति भएको छ । झापामा २७ वटा गुरुकुल रहेका छन् ।

सहमतिसँगै अब सबै गुरुकुलमा दलितलगायत सबै इच्छुक विद्यार्थीले आवास सुविधासहित पढ्न पाउने भएका छन् । सहमतिअनुसार बिहीबार नै संवाद समूह, मानवअधिकारवादी, राष्ट्रिय गुरुकुल शिक्षा परिषद्का प्रतिनिधिको रोहवरमा संघर्ष समितिका संयोजक टीकाराम मग्रातीले ताला खोल्नाका साथै कालो झण्डा हटाएका छन् ।

सामाजिक सद्भाव, आपसी मेलमिलाप र शान्तिप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा कुनै समस्या आए आपसी छलफल र संवाद प्रक्रियाबाट अघि बढ्नेसमेत सहमति भएको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिएका छन् ।

छलफलमा सहभागी प्रदेश नं १ का प्रदेशसभा सांसद जसमाया गजमेरले संविधानको सम्मान गर्दै अघि बढ्न तथा आपसी सद्भाव र मेलमिलापलाई ख्याल गर्न जोड दिए ।