काठमाडौं- नेपालका विभिन्न जिल्लाहरूमा राजनीतिक उद्देश्यप्रेरित धाकधम्की, आक्रमण, अपहरण तथा कुटपिटका घटना बढ्दै गएर सुरक्षा चिन्ता बढेकाे छ ।


ADVERTISEMENT


पछिल्लो समय पुराना राजनीतिक दल लक्षित स्थानीय कार्यकर्ता र समर्थकहरूलाई धम्की दिने, कुटपिट गर्ने, अपहरण गर्ने तथा केहीलाई सम्पर्कविहीन बनाउने घटना बढेको दाबी गरिएको छ ।


ADVERTISEMENT

# # #


विराटनगर, काठमाडौं, पोखरा, धनगढी, डडेलधुरा, झापा, वीरगञ्जलगायतका जिल्लामा कांग्रेसनिकट नेता–कार्यकर्तामाथि योजनाबद्ध रूपमा दबाब सिर्जना गर्ने र राजनीतिक गतिविधिबाट टाढा राख्ने प्रयास भइरहेको कार्यकर्ताहरूको आरोप छ।

शान्ति सम्झौतापछि फेरि हिंसाको त्रास
देशमा भएको भन्दै सन्त्रास छाएकाे छ । शान्ति सम्झौता र राजनीतिक परिवर्तनपछि हिंसात्मक गतिविधि अन्त्य हुने अपेक्षा गरिएको भए पनि पछिल्लो समय ग्रामीण क्षेत्रमा राजनीतिक हिंसाको वातावरण पुनः देखिन थालेको भन्दै चिन्ता व्यक्त गरिएको हाे ।

कांग्रेसका स्थानीय कार्यकर्ताहरूले आफूहरूलाई राजनीतिक गतिविधिमा सक्रिय नहुन चेतावनी दिइएको, पार्टीका कार्यक्रमहरूमा सहभागी भए परिणाम भोग्नुपर्ने धम्की दिइएको र कतिपय स्थानमा घरमै पुगेर डर–त्रास सिर्जना गरिएको बताएका छन् ।

विराटनगरका कांग्रेस कार्यकर्ता सुरज अधिकारीका अनुसार पछिल्लो समय राजनीतिक रूपमा फरक विचार राख्नेहरूमाथि दबाब बढाइएको छ । उनका अनुसार स्थानीय तहमा पार्टी गतिविधि विस्तार गर्न खोज्ने कार्यकर्ताहरूलाई विभिन्न माध्यमबाट धम्क्याउने गरिएको छ ।

“सामान्य राजनीतिक गतिविधि गर्दा पनि निगरानी गर्ने, फोन गरेर धम्की दिने र कार्यक्रममा नजान चेतावनी दिने अवस्था छ,” अधिकारीले भने ।

धनगढी र डडेलधुराका केही स्थानीय कांग्रेस कार्यकर्ताले आफूहरूमाथि कुटपिट भएको र केही साथीहरूलाई जबर्जस्ती नियन्त्रणमा लिएर केही समयपछि मात्र छाडिएको बताएका छन् ।

डडेलधुराका स्थानीय कांग्रेस कार्यकर्ता नवराज बोहराका अनुसार ‘जनजागरण’ समूहसँग आबद्ध केही व्यक्तिहरूले राजनीतिक असहमति राख्ने कार्यकर्तालाई लक्षित गर्ने गरेको आरोप छ ।

“हामीले प्रहरीमा जानकारी गराएका छौँ । तर कतिपय पीडितहरू अझै पनि खुला रूपमा बोल्न डराइरहेका छन्,” उनले भने ।

झापामा पनि कांग्रेसनिकट केही स्थानीय कार्यकर्ता सम्पर्कविहीन भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको बताइएको छ । शान्तिनगर गाउँपालिकाका कांग्रेस कार्यकर्ता रमेश कार्की दुई दिनसम्म सम्पर्कविहीन भएपछि परिवारले प्रहरीमा खोजीका लागि निवेदन दिएको थियो । पछि उनी घाइते अवस्थामा भेटिएको परिवारको दाबी छ ।
यस्तै, वीरगञ्जमा राजनीतिक गतिविधिमा संलग्न रहेको आरोपमा एक स्थानीय युवालाई केही व्यक्तिले नियन्त्रणमा लिएर कुटपिट गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ ।

राजनीतिक विवादको प्रभाव विद्यालय तथा शैक्षिक संस्थासम्म पुगेको आरोप समेत लाग्न थालेको छ ।

काठमाडौंस्थित जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मीना कार्कीलाई केही व्यक्तिले भेटी विद्यालयमा हुने सामाजिक तथा सामुदायिक कार्यक्रमका विषयमा दबाब दिएका थिए ।
विद्यालय व्यवस्थापन समितिका एक सदस्यका अनुसार राजनीतिक गतिविधिमा सहभागी विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी सामाजिक दबाब सिर्जना गर्ने प्रयास भएको थियो ।

पोखराको हिमालय माध्यमिक विद्यालयमा समेत विद्यालय व्यवस्थापन समितिको बैठकमा राजनीतिक हस्तक्षेप गर्न खोजिएको भन्दै विवाद उत्पन्न भएको बताइएको छ ।
स्थानीय अभिभावकहरूका अनुसार विद्यालयजस्ता संवेदनशील संस्थामा राजनीतिक विवाद प्रवेश गर्दा विद्यार्थी र शिक्षकहरूमा समेत त्रासको वातावरण बन्न सक्छ ।

नेपाली कांग्रेसका नेताहरूले पछिल्लो घटनाक्रमलाई राजनीतिक प्रतिशोधसँग जोडेर हेरेका छन् ।

कांग्रेसका एक केन्द्रीय नेताले विभिन्न जिल्लाबाट कार्यकर्ता लक्षित धम्की, कुटपिट, अपहरण र बेपत्ता पारिएको भन्दै उजुरीहरू प्राप्त भइरहेको बताए ।

“लोकतान्त्रिक अभ्यासमा राजनीतिक विचार फरक भएकै कारण कसैलाई धम्क्याउने, कुटपिट गर्ने वा अपहरण गर्ने छुट कसैलाई छैन,” उनले भने, “सरकारले घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ ।”

नेपाल प्रहरीले विभिन्न जिल्लामा प्राप्त उजुरीका आधारमा अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार राजनीतिक विवादका नाममा हुने हिंसा, धम्की, अपहरण तथा बेपत्ता बनाउने घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाही गरिनेछ ।

प्रहरीले घटनाबारे अपुष्ट सूचना सामाजिक सञ्जालमार्फत फैलाउँदा अनुसन्धान प्रभावित हुनसक्ने भन्दै प्रमाणसहित प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ।

यसैबीच, नागरिक समाज तथा मानवअधिकारसँग सम्बन्धित संस्थाहरूले राजनीतिक आस्थाका आधारमा हुने हिंसा र प्रतिशोध अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

राजनीतिक प्रतिस्पर्धा लोकतान्त्रिक प्रक्रियाबाट हुनुपर्नेमा कार्यकर्तामाथि धम्की, कुटपिट, अपहरण र बेपत्ता पार्ने गतिविधि बढ्दै गएमा त्यसले देशमा पुनः राजनीतिक अस्थिरता र हिंसाको वातावरण सिर्जना गर्नसक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।