काठमाडौं – मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १२.४४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकको खुद नाफा १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ थियो।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ३.६३ प्रतिशतले बढेर ४ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४२ करोड २७ लाख रुपैयाँ रहेको छ।
बैंकको वितरणयोग्य नाफा भने घटेर ६७ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता ८.४५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो क्षमता १९.२२ प्रतिशत थियो।
८ अर्ब ३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रहेको छ। बैंकको निक्षेप संकलन ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकले कर्जा लगानी ३.३७ प्रतिशतले बढाएर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष कर्जा लगानी ९७ अर्ब २२ करोड रुपैयाँ थियो। गत असारसम्म बैंकको निक्षेप–कर्जा अनुपात ८३.८६ प्रतिशत रहेको छ।
बैंकको प्रतिसेयर आम्दानी भने घटेको छ। अघिल्लो वर्ष १९ रुपैयाँ १६ पैसा रहेको ईपीएस गत वर्ष १८ रुपैयाँ ९८ पैसामा झरेको हो। प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६२ पैसा र मूल्य आम्दानी अनुपात १९.१३ गुणा रहेको छ। यसैबीच, बैंकको खराब कर्जा (एनपीएल) भने उल्लेख्य बढेको छ। अघिल्लो वर्ष २.९७ प्रतिशत रहेको खराब कर्जा बढेर गत असारसम्म ४.७७ प्रतिशत पुगेको छ।



























































