काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले विमानस्थलको कार्गो क्षेत्रमा विभिन्न निकायबीच आवश्यक समन्वयको अभावमा जाँचपास प्रक्रिया झन्झटिलो भएको भन्दै भन्सार जाँचपास प्रणालीलाई एकीकृत र स्वचालित बनाउन निर्देशन दिएको हो।
समितिले अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेका सम्पूर्ण पसलमा बिल–बिजक जारी गर्ने व्यवस्था लागू गर्न पनि निर्देशन दिएको छ। साथै, विमानस्थलभित्र अध्यागमन तथा भन्सार कार्यालयको परिसर साँघुरो भएकाले आवश्यक विस्तार तथा व्यवस्थापन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।
बैठकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रतर्फको कर्जा विस्तारको लक्ष्य १२ प्रतिशत रहेकामा ६.५ प्रतिशत मात्रै देखिएको भन्दै चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कर्जा प्रवाहमा देखिएका अवरोध पहिचान गरी सुधारात्मक कदम चाल्न नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।
त्यसैगरी, लघुवित्त संस्थाहरूबाट कर्जा प्रवाहमा देखिएको दोहोरोपन तथा ऋण असुलीमा देखिएका गम्भीर समस्यालाई तत्काल सम्बोधन गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।
समितिअन्तर्गत गठित विभिन्न उपसमितिका प्रतिवेदनका आधारमा नेपालमा सञ्चालित उद्योगहरूका लागि प्रतिस्पर्धी दरमा गुणस्तरीय तथा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिइएको छ।
दुर्गम तथा पिछडिएका क्षेत्र र मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रमा विशेष छुटसहित विशेष आर्थिक क्षेत्र सञ्चालनमा ल्याउने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको पनि सभापति बुढाथोकीले जानकारी दिए।



























































