हेटौँडा- बागमती विश्वविद्यालयअन्तर्गत सञ्चालित हेटौँडा क्याम्पसमा नयाँ, उन्नत तथा व्यावसायिक शैक्षिक कार्यक्रमप्रति विद्यार्थी, अभिभावक तथा सरोकारवालाको आकर्षण बढेको छ। क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रममा विद्यार्थीको उच्च सहभागिता देखिएको क्याम्पसले जनाएको छ।
क्याम्पसमा पछिल्लो समय बीआईटी, बीबीए, होटल म्यानेजमेन्ट, बीएएलएलबी, एलएलबी तथा बीएडजस्ता स्नातक तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। शैक्षिक सत्र २०८३/०८४ (२०२६ ब्याच) का लागि प्रथम सेमेस्टरको निर्धारित कोटाको भर्ना प्रक्रिया पूरा भइसकेकाले बीबीए र होटल म्यानेजमेन्टतर्फको नयाँ भर्ना बन्द गरिएको क्याम्पसले जनाएको छ।
हेटौँडा क्याम्पस पछिल्लो समय प्रमुख शैक्षिक गन्तव्यका रूपमा विकसित हुँदै गएको र देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रबाट विद्यार्थी अध्ययनका लागि आउने क्रम बढेको क्याम्पसको भनाइ छ। प्रवेश परीक्षा उत्तीर्ण गरेका धेरै विद्यार्थी भए पनि बागमती विश्वविद्यालयको सीमित कोटा तथा सिट क्षमताका कारण सबैलाई समेट्न नसकिएको जनाइएको छ।
क्याम्पस प्रमुख डा. देवेन्द्रमानन्धरले प्रवेश परीक्षा उत्तीर्ण गरेका धेरै विद्यार्थीलाई कोटा प्रणालीका कारण सिटभित्र समेट्न नसकिएकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धित विद्यार्थी तथा अभिभावकप्रति परेको असहजताप्रति ध्यानाकर्षण भएको बताएका छन्। आगामी शैक्षिक सत्रमा विद्यार्थीको माग र आकर्षणलाई मध्यनजर गर्दै थप कोटा वृद्धि गर्ने प्रतिबद्धता समेत क्याम्पसले जनाएको छ।






























































