काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारेका छन् ।
बिहीबार मन्त्रालयमा होटल व्यवसायीहरुसंगको छलफलका क्रममा मन्त्री यादवले बाटोको अवरोधका कारण ग्यास बुलेट भित्राउन कठिन भएको अवस्थामा ग्यास बितरणमा सर्वसाधारणलाई पहिलो प्राथमिकतामा राखिएको भन्दै होटल व्यवसाय बन्द गर्ने वा ग्यास नै नदिने सरकारी नीति नरहेको स्पष्ट पारेका हुन् ।
उनले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह समेत गरेका छन् ।
कृष्णभीरमा गएको बाढीका कारण सडक अवरुद्ध हुँदा ग्यास आयात तथा ढुवानी प्रभावित भएको अवस्थामा होटल व्यवसायीलाई आवश्यक ग्यास आफैं आयात गर्नसमेत मन्त्री यादवले आग्रह गरेका छन्।
त्यसका लागि सुरक्षालगायत आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको उनले बताएका छन्। मन्त्री यादवले होटल व्यवसायका लागि छुट्टै र घरायसी प्रयोजनका लागि छुट्टै सिलिन्डरको व्यवस्था गर्न मन्त्रालय र नेपाल आयल निगमले काम अघि बढाइसकेको जानकारी दिएका छन्।
छलफलमा होटल संघ नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले अहिले पनि बढी रकम तिरेपछि मात्र ग्यास पाउने अवस्था रहेको भन्दै ग्यासमा कालोबजारी भइरहेको गुनासो गरेका छन् । उनले सहज रुपमा ग्यास पाउने नसके नेपालको समग्र पर्यटन क्षेत्रमा नै असर पर्ने धारणा राखेका छन् ।
त्यस्तै नेपाल आयल निगमका महाप्रबन्धक नागेन्द्र शाहले ग्यास आयात तथा ढुवानीलाई सहज बनाउन होटल व्यवसायीहरू आफैंले समेत सवारीसाधनको व्यवस्था गरेर ग्यास ढुवानीमा सहयोग गर्न आग्रह गरेका छन् ।































































