काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको केबल डक्ट टनेलमा खोज तथा उद्धार कार्य जारी छ।
आयोजनाका सुरुङ तथा मुख्य संरचना बाढीले पुरिएपछि मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको प्राविधिक टोली उद्धारमा खटिएको छ। टोलीले पाँचवटा एक्स्काभेटर, कम्प्रेसर र ब्रेकरको प्रयोग गरिरहेको छ।
सुरुङको मुखमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगासहितको डेब्रिस थुप्रिएको थियो। रातदिनको निरन्तर प्रयासपछि माथिबाट करिब ३ फिट सुरुङको मुख खुलाइएको छ।
सुरुङभित्र उद्धार टोली १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ। तर एक्स्काभेटर तथा अन्य भारी उपकरण सुरुङभित्र लैजानका लागि मुख पूर्णरूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम भइरहेको छ।
त्यहाँ रहेका थप ७ वटा ठूला बोल्डर ब्लास्टिङ गर्ने तयारीसमेत गरिएको छ।
करिब १७० मिटर लामो सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङभित्रको बाटो पूर्णरूपमा सफा गरेपछि मात्रै पावरहाउस लगायतका अन्य संरचनासम्म पुग्न सकिनेछ। त्यसैले सुरुङमा फसेका हुनसक्ने व्यक्तिको खोजी तथा उद्धारका लागि डेब्रिस हटाउने कामलाई तीव्रता दिइएको छ।































































