काठमाडौं – अन्नपूर्ण स्पाइकर क्लबले एक्स्ट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभीएल) मा पहिलो जित हात पारेको छ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको खेलमा अन्नपूर्णले काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो। अन्नपूर्णले २५–२३, २८–२६ र २५–२३ ले खेल आफ्नो पक्षमा पार्‍यो।


ADVERTISEMENT

# # #


दुई खेल खेलेको अन्नपूर्णको यो पहिलो जित हो। यसअघि अन्नपूर्ण कर्णाली शिवराजसिंहसँग ३–१ ले पराजित भएको थियो। यता, काठमाडौं रेड्सको भने दुई खेलमा यो पहिलो हार हो। पहिलो खेलमा काठमाडौं रेड्सले मधेश वारियर्सलाई ३–२ ले हराएको थियो।

अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।

प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। नेपाली भलिबल इतिहासमै यो अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो।

आइतबारको दोस्रो तथा अन्तिम खेल कर्णाली शिवराज र खप्तड फाल्कन्सबीच साँझ ७ बजे हुनेछ।