काठमाडौं – ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ ।
पौडी पोखरी परिसरभित्रको जेनजी स्मृति पार्कमा निर्माण गरिएको जेनजी सहिदहरुको सालिक वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै परिवारजनले आपत्ति जनाएपछि सालिक अनावरण कार्यक्रम स्थगित गरिएको हो । सालिक अनावरणका लागि गृहमन्त्री सुधन गुरुङ, रास्वपा सांसदहरु, सहिद परिवार लगाएत सातदोबाटोस्थित पौडी पोखरी परिसर पुगेका थिए ।
सो क्रममा सहिद परिवारहरुले अनुहारसँग नमिलेको भन्दै आपत्ति जनाएका थिए । त्यसपछि सालिक अनावरण गर्ने कार्यक्रम रोकिएको रास्वपा सांसद जगदीश खरेलले जानकारी दिए । निर्माण गरिएको शालिकको अनुहार सम्बन्धित सहिदसँग ठ्याक्कै नमिलेको भन्दै परिवारजन तथा आफन्तहरूको असहमति आएकाले तत्काल हतारमा अनावरण नगर्ने निर्णय गरिएको उनले बताए । उनले शालिकको अनुहार मिलाउने र वरिपरिको फिनिसिङका बाँकी कामहरू पूरा गर्न थप समय लिइने भन्दै आगामी माघ १६ (सहिद दिवस) का दिन अनावरण गर्न आफुले प्रस्ताव गरेको जानकारी दिए ।
त्यस्तै उनले जेनजी स्मृति पार्क र सहिदहरुको शालिक राख्ने योजना अघिल्लो सरकारकै पालामा शुभारम्भ भएको र बाँकी संरचनात्मक÷प्राविधिक विवरणहरू सांसद बब्लु गुप्ता आएपछि स्पष्ट हुने उल्लेख गरे ।
































































