काठमाडौं – नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटिमा प्रस्तुत हुने एजेन्डा तय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले केन्द्रीय कमिटिमा अध्यक्षको मन्तव्य, केही केन्द्रीय सदस्यहरूको मनोनयन, र अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुति तथा त्यसपछिको छलफल समावेश लगाएताक एजेण्डा तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए । उनले कार्यदलको प्रतिवेदन सचिवालयमा बैठकमा प्रस्तुत नभएको बताए ।
कार्यदलले सचिवालयमा आफ्नो प्रतिवेदन बुझाइसकेकाले अब कार्यदलको काम र भूमिका औपचारिक रूपमा सकिएको उनले बताए । कार्यदल देखाउन मात्र नभई तल्लो तहको समीक्षा र सुझाव संकलनका लागि बनेको भन्दै उनले तल्लो तहबाट आएका सुझावहरूलाई छुट्टै अनुसूचीमा नराखी प्रतिवेदनभित्रै समावेश गरिएको जानकारी दिए ।
साथै भट्टले प्रतिवेदनमा अध्यक्षको रिजर्भेसन रहेका बिषयलाई पहिले नै प्रतिवेदनबाट हटाइसकिएकाले अब अध्यक्षको रिजर्भेसनको कुनै औचित्य वा विवाद बाँकी नरहेको उल्लेख गरे । प्रतिवेदनमाथि केन्द्रीय कमिटिमा नै थप छलफल हसने उनको भनाइ छ ।































































