काठमाडौं । भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीलाई आवश्यक सहजीकरण गर्न नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले पहल थालेको छ।
बाढी तथा डुबानका कारण भन्सार नाका लगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुगेको, केही सवारीसाधन हराएको तथा व्यवसायीका गोदाम, कार्यालय, उपकरण र अन्य व्यावसायिक सम्पत्तिमा समेत क्षति पुगेको जानकारी आएपछि नाडाले सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालयलगायत सरोकारवाला निकायसँग समन्वय सुरु गरेको जनाएको छ।
नाडाले बाढी तथा डुबानबाट प्रभावित आफ्ना सदस्य कम्पनीहरूलाई क्षतिको यथार्थ तथा प्रमाणित विवरण सचिवालयमा उपलब्ध गराउन आग्रह गरेको छ। नाडाले क्षतिको विवरणमा क्षतिग्रस्त तथा हराएका सवारीसाधन, सवारीसाधन रहेको स्थान र सम्बन्धित भन्सार नाका, सवारीसाधनको संख्या तथा प्रकार, गोदाम र कार्यालयमा भएको क्षति, बीमा गरिएको सम्पत्ति, बीमा दाबीका लागि आवश्यक कागजात तथा बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसम्बन्धी विवरण समावेश गर्न आग्रह गरेको छ।
प्राप्त विवरणका आधारमा क्षतिको समग्र विवरण संकलन तथा अभिलेखीकरण गरी सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने नाडाले जनाएको छ। विशेषगरी बीमा दाबी प्रक्रिया सहज बनाउन बीमा कम्पनीसँग तथा भन्सार नाकामा रहेका हराएका वा क्षतिग्रस्त सवारीसाधनको पहिचान र आवश्यक प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालयसँग समन्वय गर्ने नाडाको योजना छ।
त्यसैगरी प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन तथा अन्य सम्भावित सहजीकरणका लागि सम्बन्धित निकायसँग पहल गर्ने नाडाले जनाएको छ।
सरकार तथा सरोकारवाला निकायसमक्ष अटोमोबाइल क्षेत्रमा भएको क्षतिको समग्र विवरण प्रस्तुत गरी राहत, सहजीकरण तथा आवश्यक नीतिगत सम्बोधनका लागि पहल गर्ने पनि नाडाले बताएको छ। यसका लागि आवश्यकताअनुसार समन्वय तथा सहजीकरण समिति गठन गरी प्रभावित सदस्यका समस्या सम्बन्धित निकायसम्म पुर्याउने तयारी गरिएको छ।
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रभावित सदस्य व्यवसायीलाई क्षतिको यथार्थ विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरेका छन्।
































































