काठमाडौँ – राइड सेयरिङ प्लेटफर्म पठाओले आफ्ना राइडर तथा क्याप्टेनहरूका लागि कमिसनमा आधारित आम्दानी प्रणालीलाई परिवर्तन गर्दै सब्स्क्रिप्सनमा आधारित नयाँ प्रणाली लागू गर्ने घोषणा गरेको छ।


ADVERTISEMENT


नयाँ व्यवस्थाअनुसार पठाओका क्याप्टेनहरूले प्रत्येक राइडबाट प्राप्त आम्दानीको प्रतिशतका आधारमा पठाओलाई कमिसन बुझाउनुपर्ने छैन। यसको सट्टा क्याप्टेनहरूले आफ्नो आवश्यकता र सुविधाअनुसार दैनिक, साप्ताहिक वा मासिक निश्चित सब्स्क्रिप्सन शुल्क तिरेर राइड सेवा सञ्चालन गर्न सक्नेछन्।


ADVERTISEMENT

# # #


‘उचित दर, मेहेनतको कदर’ भन्ने नारासहित आफ्नो ८औँ बार्षिकोत्सवका अवसरमा सार्वजनिक नयाँ सब्स्क्रिप्सन शुल्क संरचनाअनुसार कारका लागि २४ घण्टाको रु. १४९, ७ दिनको रु. ६९९ र ३० दिनको रु. २,२९९ शुल्क तोकिएको छ । त्यसैगरी, बाइकका लागि २४ घण्टाको रु. ४९, ७ दिनको रु. २९९ र ३० दिनको रु. ९९९ सब्स्क्रिप्सन शुल्क निर्धारण गरिएको छ ।

यस प्रणालीअन्तर्गत ग्राहकले तिर्ने राइड भाडामा लाग्ने ५ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) र १ प्रतिशत TDS भने यथावत् रहनेछ। उक्त करसम्बन्धी दायित्व सब्स्क्रिप्सन शुल्कभन्दा अलग रूपमा सम्बन्धित ड्राइभरको रहनेछ।

पठाओले कमिसन प्रणालीको विकल्पका रूपमा ल्याएको सब्स्क्रिप्सन मोडलले राइडर तथा क्याप्टेनहरूलाई आफ्नो आम्दानी व्यवस्थापनमा थप सहजता प्रदान गर्ने विश्वास लिएको छ। विशेषगरी राइड सेयरिङ क्षेत्रमा राइडर तथा क्याप्टेनहरूले उठाउँदै आएको भाडादर र आम्दानीसँग सम्बन्धित विषयलाई ध्यानमा राख्दै यो नयाँ व्यवस्था ल्याइएको हो।

यसअघि राइडर तथा क्याप्टेनहरूले उठाउँदै आएको रु. २५ प्रतिकिलोमिटरको न्यूनतम भाडादर सम्बन्धी मागप्रति पनि पठाओले सकारात्मक धारणा सार्वजनिक गरिसकेको छ।

पठाओले राइड सेयरिङ क्षेत्रलाई व्यवस्थित, प्रतिस्पर्धात्मक तथा दिगो बनाउन सबै राइड सेयरिङ प्लेटफर्ममा समान भाडादर लागू हुनेगरी सरकारले स्पष्ट र समान व्यवस्था गर्नुपर्ने धारणा राख्दै आएको छ। यसले बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न तथा राइडर, क्याप्टेन र यात्रु सबैको हित सुनिश्चित गर्न सहयोग पुग्ने पठाओको विश्वास छ।

पठाओ आफ्ना राइडर, क्याप्टेन तथा यात्रुहरूको हितलाई प्राथमिकतामा राख्दै राइड सेयरिङ सेवालाई थप व्यवस्थित, पारदर्शी र दिगो बनाउने दिशामा निरन्तर काम गरिरहेको छ।