काठमाडौं- मोरङको विराटनगर महानगरपालिका–१२, बखरीमा अवस्थित निप्पोन फार्मास्युटिकल्स लिमिटेडले प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।


ADVERTISEMENT


कम्पनीले प्रचलित धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँटसम्बन्धी निर्देशिकामा भएको व्यवस्थाबमोजिम नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने जनाएको छ ।


ADVERTISEMENT

# # #


प्राथमिक सेयर निष्कासनसम्बन्धी सम्पूर्ण कार्यका लागि कम्पनीले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा निप्पोन फार्मास्युटिकल्सका प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ ।

निप्पोन फार्मास्युटिकल्स डब्लुएचओ–जीएमपी तथा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनी हो । कम्पनीले ट्याब्लेट, क्याप्सुल, तरल औषधि, मलम, क्रिम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेेनिसिलिनलगायतका औषधि उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीको दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा भएको हो । स्थापना भएको करिब पाँच वर्षपछि अर्थात् सन् २०२२ देखि कम्पनीले व्यावसायिक उत्पादन तथा बजारिकरण सुरु गरेको जनाएको छ ।

व्यावसायिक उत्पादन सुरु गरेको चार वर्षको अवधिमा कम्पनीले विभिन्न उपचारात्मक क्षेत्रमा ६० भन्दा बढी उत्पादन बजारमा ल्याउन सफल भएको जनाएको छ । कम्पनीले उच्च गुणस्तरका औषधि तथा स्वास्थ्यसम्बन्धी उत्पादनको उत्पादन र बजार विस्तारलाई निरन्तरता दिँदै आएको बताएको छ ।

‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ अघि बढिरहेको निप्पोन फार्मास्युटिकल्सले देशका लागि आवश्यक अधिकांश औषधिमा आत्मनिर्भरता बढाउन योगदान गर्ने उद्देश्य राखेको जनाएको छ ।

नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त भएपछि प्राथमिक सेयर निष्कासनको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।