काठमाडौं – बागलुङको निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज बिहान करिब ४ देखि ५ बजेको समयमा घरमाथिबाट अचानक खसेको पहिरोले घर पुरिएको हो ।
पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विकसहित उनका तीन छोराको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १२ वर्षीय मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन् ।
गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहानको समयमा खसेको पहिरोले उनीहरूलाई घरभित्रै पुरेको हो ।
यसैबीच, सोही वडाको एङवेङमा पहिरोले जंगबहादुर खड्काको बाख्राको खोरसमेत पुरेको छ । खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा बाख्रा पहिरोले बगाएको बताइएको छ ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा क्षतिको विवरण संकलन भइरहेको छ ।
































































